काठमाडौं । प्रधानमन्त्री प्रचण्डले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीसँग फोनमा कुराकानी गरेका छन् ।

इजरायलमा हमासको आक्रमणपछि बंकरभित्र रहेका नेपाली विद्यार्थी टीम लिडर दाङ घर भएका विपिन सुवेदीसँग सोमबार प्रधानमन्त्रीले कुराकानी गरेका हुन् ।

कुराकानीको क्रममा प्रधानमन्त्रीले इजरायल घटनाको बिषयमा छलफल गर्नको लागि क्याबिनेट र सर्वदलीय बैठक पनि बोलाइएको जानकारी गराएका छन् । संवादको क्रममा विपीनले आफूहरु एउटा पासपोर्ट ब्यागमा हालेर रेडि भएर बसिरहेको भन्दै छिटोभन्दा छिटो नेपाल फर्काइदिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले अहिले नेपाल फर्काउनको लागि आफूहरु सक्रियतापूर्वक काम गरिरहेको बताए ।

प्रधानमन्त्रीले त्यहाँ विद्यार्थीसँग लगातार कम्युनिकेट गरिदिुन विपिनलाई आग्रह गर्दै ह्याभोक क्रियट गर्न खोजिरहेकोले सचेत हुनुपर्ने बताएका छन् । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरेका छन् । प्रचण्डभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दूतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल गएका ४९ विद्यार्थीहरूमध्ये १० जनाको निधन भइसकेको छ । अन्य केही विद्यार्थी घाइते भएका छन् भने केहीले बंकरबाट उद्धारका लागि याचना गरिरहेका छन् ।

प्रधानमन्त्री र विपिनबीचको कुराकानीः
प्रधानमन्त्री : सुदूरपश्चिमको सबै विद्यार्थीहरुको नेतृत्व गरेको हो ?

विपिन सुवेदी : हो हो ।

प्रधानमन्त्री: यहाँ रमेशजी (प्रधानमन्त्रीका स्वकीय)सँग तपाईंको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु ।

विपिन: हजुर ।

प्रधानमन्त्री: अहिले परराष्ट्रमन्त्रीसँग कुरा पनि भइ नै हाल्यो । हामी अस्तिदेखि नै लगातार लागिरहेका छौं । स्थिति एउटा विस्तारै अवस्थामा आइरहेको छ । यही विषयको लागि अहिले क्याबिनेटको बैठक पनि बोलाइएको छ । सर्वदलीय बैठक पनि बोलाइएको छ । इजरायली राजदूतावासमा पनि लगातार कुरा भइराखेको छ । सायद अहिले परराष्ट्रमन्त्री स्तरमा पनि कुरा होला । यो सबै कुरा तपाईंले त्यहाँ सबै विद्यार्थीहरुलाई कम्युनिकेट गरिदिनुपर्‍यो । ह्याभोक क्रियट गर्ने हुन्छन् ।

विपिन: सबै जनालाई भन्दिइसकें ।

प्रधानमन्त्री: अँ अँ ।

विपिन: अहिलेको अवस्थामा एकजोर कपडा र पासपोर्ट व्यागमा हालेर रेडी भएर बस्नुस् । केयर गर्नुस् भनें । सबै जना रेडी हुनुहुन्छ ।

प्रधानमन्त्री: थ्याङ्कु विपिनजी । रमेशजीसँग कम्युनिकेसनमा बस्नुस् ल ।

विपिन: हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस् ।

प्रधानमन्त्री: ल ल । हामी त्यो तयारी गरिरहेका छौं । सक्रियताको साथ गरिराखेका छौं । ल हस् त ल ।