विद्रुप हाटखोला बसपार्क

विराटनगर । विराटनगरको हाटखोलामा सञ्चालित बसपार्क बिद्रुप बनेको छ । मर्मत सम्भार र व्यवस्थापनको अभावले बसपार्क दुरावस्थामा पुगेको हो ।

कटहरी गाँउपालिका निवासी बद्रि कोइरालाको निजी जग्गा भाडामा लिएर २०५२ सालदेखि संचालन गरिएको बस पार्क मर्मत अभावमा त्यहाँबाट यात्रा गर्ने सर्वसाधारणले हैरानी खेप्नु परिरहेको छ । सानो पानी परे पनि जम्ने र हिलाम्मे हुने भएकोले बस चालक तथा यात्रुहरुले समस्या भोग्नु परिरहेको यातायात मजदुरहरुले बताएका छन् ।

विगत १० वर्षदेखि बस चलाउँदै आएका श्रवणकुमार कामत बस पार्कको अवस्थाले हैरानी खेपिरहेको बताए । उनी भन्छन् ‘पानी परेको बेला बस चलाउनै डर लाग्ने अवस्था छ, हिउँदमा धूलोले बसिसक्नु हुँदैन बर्खामा हिलोले बस चलाउनै नसक्ने अवस्था हुन्छ ।’

अर्का बस चालक बाशुराम चौधरी पनि बसपार्कको अवस्थाबाट वाक्क छन् । उनी भन्छन्, ‘बसपार्क र सडकको अवस्था जीर्ण हुँदा हामी चालकहरुलाई निकै गाह्रो हुने गरेको छ । त्यसमा पनि जथाभावी चल्ने सिटी सफारीले सडकमा दुर्घटनाको जोखिम बढाइदिएको छ ।’
लामो समयदेखि बसपार्क सञ्चालन गर्दै आएका प्रकाश कार्कीले जग्गा भाडामा लिएर पूर्वी मोरङ चल्ने सवारी साधन र यात्रुहरुलाई सेवा दिइरहेको बताउँछन् । बर्खामा सबैले हैरानी खेप्नु परेकोले मर्मतका लागि विराटनगर महानगरपालिकालाई आग्रह गर्दा सुनुवाइ नभएको उनले बताए ।

‘हामीले महानगरसँग पटक पटक यस पार्कलाई व्यवस्थित गर्न अनुरोध गर्यौं तर महानगरले निजी जग्गामा सरकारले काम गर्न मिल्दैन भन्दै पन्छियो,’ कार्कीले भने । बसपार्कमा पटक पटक गिटी पुरेको र मर्मत गरेको भएपनि केही समयमै बिग्रिने गरेको भन्दै उनले बसपार्कको आम्दानी भन्दा मर्मत खर्च बढी हुने अवस्था भएकोले मर्मत गर्न पनि समस्या भएको बताए ।

महानगरले बजारभित्र निजी जग्गा भाडामा लिएर पार्किङ गर्न सरकारी लगानीमा मर्मत गरिरहेको भए पनि शहरको एउटा बसपार्कमा बहाना बनाएर मर्मत नगरेको सरोकारवालाहरुको आरोप छ । हाटखोला बसपार्कबाट दैनिक ४९ वटा बसहरु सञ्चालन हुँदै आएको छ । यहाँबाट आमबारी, अमरदह, कानेपोखरी, भाउन्ने, विराटचोक आदि स्थानमा दैनिक बस सञ्चालन हुँदै आएको छ ।

सोमबार, २२ असोज, २०८०, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर