विराटनगर । भारतबाट तस्करी भएर आएको ठुलो परिमाणको औषधि प्रहरीले बरामद गरेको छ । प्रहरीले विराटनगर –१३ जतुवा नहरबाट भारतबाट तस्करी गरी ल्याइएको ठुलो परिमाणको औषधि बरामद गरेको हो ।
अवैध रुपमा भन्सार छलेर झोलामा ल्याउँदै गरेको ३ लाख २१ हजार ४२४ रुपैयाँको औषधि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले ओकेरोन, माइकोफिट, ग्यासनोल नामको औषधि बरामद गरेको हो । बरामद गरेको औषधि विभागमा दर्ता नभएको पाइएको छ । बरामद ओकेरोन औषधी अल्सर भएर ब्लिडिङ हुँदा रोक्नका लागि प्रयोग गरिन्छ । यो औषधि नेपालमा भन्दा भारतमा सस्तोमा पाइने भएकोले तस्करी भएर आउने गरेको देखिन्छ ।
विराटनगरका केही फर्मेशीहरूले क्यारिङ गरेर यस्ता औषधि ल्याउने गरेको भएपनि क्यारिङमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीलाई देखेपछि औषधि ल्याउने व्यक्ति फरार भएको डिएसपी दाहालले बताए । बरामद गरेको औषधि प्रहरीले औषधि व्यवस्था कार्यालय विराटनगरमा बुझाएको छ ।

