झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।सर्लाहीको लालबन्दीमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कासहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गरेको छ।

उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिजानाको माग गर्दै मुद्दा दायर भएको हो।

यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ।

विषालु सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि भनेर स्थापना भएको केन्द्रमा तत्कालिन मन्त्री विजय कुमार र मेयर खड्काको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

अख्तियारले प्रतिष्ठानको नाममा रहेको लालबन्दी नगरपालिका १ को ८ विघा ९ कठ्ठा ६.३३ धुर जग्गा र जिप जफतको मागदाबीका लागि प्रतिष्ठानलाई पनि प्रतिवादी बनाएको छ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐनको दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ। ऐनको दफा ३ को उपदफा (१)को देहाय खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी, दुरुपयोग भएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निजहरुबाट असुल उपर गर्नुपर्ने अख्तियारको ठहर छ।

भ्रष्टाचारले बदनाम भएपछि हाल झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ। प्रतिष्ठान अध्यक्ष रेवतीप्रसाद पन्त छन्। उनी एमालेको मधेश प्रदेश कमिटीका उपाध्यक्ष हुन्।

आइतबार, २१ असोज, २०८०, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर