कोशीमा सरकार निर्माणको अन्तिम विकल्प प्रयोगमा

विराटनगर । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको १० महिनाभित्रै कोशी प्रदेशमा निर्माणको अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै प्रदेशमा छोटो समयमै सबै संवैधानिक विकल्प प्रयोगमा आउने निश्चित भएको हो ।

नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

अब प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन् ।

यसअघि सर्वोच्च अदालतको परमादेशबाट कमब्याक भएका कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की पुनः ३० दिनपछि सत्ताविहीन हुन पुगेका छन् । गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजको प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम थियो । तर विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका हुन् ।

यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा सत्ताच्यूत भएका थिए । गत असार १५ गते प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको थियो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि उनी पदमुक्त बनेका थिए । पुस २४ गते नियुक्त भएका उनले पुस २५ गते शपथ ग्रहण गरेका थिए ।

भदौ २२ गते पुनः नियुक्ति भएका कार्कीले अघिल्लो कार्यकालमा सत्ताच्यूत हुँदा ल्याएको विश्वासको मत पनि अहिले नपाउने परिस्थिति बन्यो । राप्रपाले असहयोग गर्यो भने एमालेबाटै उपसभामुख रहेको कारण कार्कीको पक्षमा ३९ मत मात्रै हुने अवस्था थियो । प्रदेशसभा अहिलेसम्म सभामुख विहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन् ।

एमालेको कोशी प्रदेशमा हालको गठबन्धन दल काँग्रेस, माओवादी, नेकपा (एस) र जसपासँग राम्रो सम्बन्ध छैन । यसअघि नै प्रदेशको नामकरणको विषयमा विवादित बनेका कार्कीले विश्वासको मत लिनका लागि अन्य दल मिलाउनै सकेनन् । जसका कारण दोस्रो पटक संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बन्ने अवसर पाए पनि उनले आफ्नो पद जोगाउन सकेनन् ।

कोशी प्रदेशको दोस्रो कार्यकालमा अब बन्ने मुख्यमन्त्री पाँचौँ मुख्यमन्त्री हुनेछन् । यसअघि कार्की १ पटक र काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बनिसकेका छन् । पाँचौँ पटकमा बन्ने मुख्यमन्त्री को भन्ने विषय अहिले नै टुङ्गो लागिसकेको छैन ।अघिल्लो पटक असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो । त्यसबेला मुख्यमन्त्री थापाले २२ दिन मात्रै काम गर्न पाएका थिए ।

अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको थियो । सोही अनुसार थापा पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भए । तर, उनले भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए र सर्वोच्चले पुनः भदौ २१ गते उनलाई बर्खास्त गरेको थियो । कोशी प्रदेशको पहिलो प्रदेशसभाबाट तीन जना मुख्यमन्त्री बनेका थिए । पहिलो पटक एमालेका शेरधन राई, दोस्रो पटक एमालेकै भीम आचार्य र तेस्रो पटक नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यीय सांसदमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।

आइतबार, २१ असोज, २०८०, बिहानको ०९:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर