राप्रपा भन्छ : कोशी प्रदेश मध्यावधिमा जाने अवस्था बन्दैन

विराटनगर । कोशी प्रदेशलाई मध्यावधिमा लैजाने कि सरकार निर्माण गर्नेमा निर्णायक रहेको राप्रपाले प्रदेश मध्यावधिमा जाने अवस्था नबन्ने बताएको छ ।

विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएपछि कोशीका संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि राप्रपाको यस्तो धारणा आएको हो ।

उपधारा ३ को मुख्यमन्त्रीले राजीनामा दिएपछि अब स्वभाविक रुपमा उपधारा ५ अनुसार सरकार गठनको आह्वान हुनेछ । त्यो उपधारा अनुसार सरकार नबने वा त्यसरी बनेको सरकारले ३० दिनभित्र विश्वासको मत नपाएमा प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनमा जाने संवैधानिक व्यवस्था छ ।

सर्वदलीय सरकार गठनको विकल्पबाहेक राप्रपाले गठबन्धनलाई साथ नदिएमा वा एमालेसँग काँग्रेस वा माओवादी नमिलेमा प्रदेशसभा विघटन हुने निश्चित रहेको छ । राप्रपाले भने विघटनको अवस्था नआउने बरु दलहरुबीच सहमति जुटाउन भूमिका खेल्ने बताएको छ ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले अब राप्रपाले सहमतिका लागि मुख्य भूमिका खेल्ने दावी गरे । ‘राप्रपाले अब माओवादी, एमाले, काँग्रेसलाई जोड्ने काम गर्छ,’ उनले भने, ‘६ वटा पार्टीलाई बोकेर मलाई मुख्यमन्त्री देऊ भन्न मिल्दैन ।’ मध्यावधिमा जाने अवस्था नबन्ने भन्दै उनले राप्रपा समन्वय र सहयोग गर्ने भूमिकामा रहने स्पष्ट पारे ।

अघिल्लो पटक जस्तो उपसभामुख बिरामी हुने वा जेष्ठ सदस्यहरु अनुपस्थिति हुने खालको परिस्थिति अब नबन्ने सिटौलाको दावी छ । यसअघि ४७ सांसदसहित मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई एमाले र राप्रपाले विश्वासको मत लिने कार्यमा असहयोग गर्दा पदमुक्त भएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशका बहुमत सांसदको समर्थन पाएका थापालाई विश्वासको मत प्राप्त गर्न एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवार र राप्रपाका जेष्ठ सदस्यले असहयोग गर्न प्रदेशसभा बैठक सञ्चालन नगर्दा काँग्रेस सांसदकै नेतृत्वमा बैठक चलाएर उनले विश्वासको मत लिएका थिए । सभाको अध्यक्षता गरेका काँग्रेस सांसद इस्राइल मन्सुरीले पनि मत दिएर थापाले विश्वासको मत प्राप्त गरेकोमा सर्वोच्च अदालतले त्यसलाई बदर गरेपछि कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा एमालेबाहेक कुनैपनि दलको समर्थन नपाउने भएपछि राजीनामा दिएका हुन् ।

शनिबार, २० असोज, २०८०, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर