विराटनगर । हिंसा भड्काउन उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ ।
सुनरीबाट पक्राउ गरिएका उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा बुधबार मुद्दा दर्ता भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट उनलाई पक्राउ गरि बुधबार साँझ धनुषा ल्याइएको थियो । असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका उनलाई सोही अभियोगमा मुद्दा चलाइएको हो ।
श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ । श्रीनिवासले केही दिन अगाडि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । हिन्दुको बिरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको जिम्मेवारी लिने आपत्तीजनक अभिव्यक्ति दिएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।
श्रीनिवासले गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’
श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै आपत्तीजनक अभिव्यक्ति दिँदै त्यस्तै गतिबिधि गर्दै आएका छन् । उनी केहि वर्ष अगाडि आफैंलाई गोली हानेको आरोपमा विराटनगरबाट पक्राउ परेका थिए । हिन्दुहरुलाई भड्काएर हिन्दुराष्ट्रको लागि आन्दोलनमा सहभागी गराउन २०७४ चैतमा आफैंमाथि गोली हानेका उनले आफूमाथि हिन्दुविरोधीबाट आक्रमण भएको प्रचार गरेका थिए ।
तर, प्रहरीले अनुसन्धान गर्दा उनले आफैं बन्दुक किनेर सहयोगीलाई आफ्नो पाखुरामा गोली हान्न लगाएको पुष्टि भएको थियो । २०७५ बैशाख २४ मा आफैलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । घटना उनकै योजनामा भएको पनि प्रहरीले खुलासा गरेको थियो । उनलाई उनकै सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीले गोली हानेका थिए । सो मुद्दामा जेल चलान भएका श्रीनिवास पछि धरौटीमा छुटेका थिए ।
श्रीनिवासलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । आफैंमाथि गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ ९क० बमोजिम पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले पुर्पुक्षको लागि थुनामा पठाएपछि उनले अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी सुनसरीको झुम्का कारागारबाट २० दिनमा रिहा भएका थिए ।
केहि समय अगाडि सुनसरीको धरानमा चलेको जातीय तथा धार्मिक विवादलाई पनि भड्काउन श्रीनिवासले प्रयास गरेका थिए । धरानमा चर्च र मन्दिरको विवादमा उनले चर्च भत्काउने धम्की दिएका थिए । उनले हिन्दुमाथि अपमान भए बाबरी मस्जिदको घटना दोहोरिने चेतावनी दिएका थिए । धरानका मेयर हर्क साम्पाङ ख्रिष्टियन भएको भन्दै उनले धरानमा धर्मयुद्ध हुने धम्की दिएका थिए ।
श्रीनिवाससहित अतिवादीहरुको कारण धरानमा जातीय तथा धार्मिक हिंसाको जोखिम बढेको थियो । त्यसलाई केहि जनजातिले गोरु काटेर खाएको भिडियो सार्वजनिक गरेपछि मलजल भएको थियो । अन्तिममा प्रशासनले निषेधाज्ञा लगाएर जोखिम हटाएको थियो भने सद्भावको लागि धरानका राजनीतिक दलहरु र नागरिक अगुवाले भूमिका खेलेका थिए ।

