विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा विनोद ढकाल सुरुवातदेखि नै थिए । एमालेमा सिपी मैनाली र झलनाथ खनालको फरक गुट हुँदा पनि ढकाल ओली र माधव नेपाल लाइनमा थिए । माले एमाले विभाजनपछि बनेको एमालेमा केपी र माधव नेपालको फरकफरक लाइन बन्यो । त्यसबेला पनि ढकालले ओलीलाई नै साथ दिए ।
२०७१ साल असार १९ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए । तर, आठौं महाधिवेशनबाटै ढकाल ओली लाइनबाट मोरङको अध्यक्ष बनेका थिए ।ओलीका लागि ५८ सालपछिका १० वर्ष पार्टीभित्रै संकटपूर्ण अवस्था थियो । त्यसबेला उनलाई देशभरका कुनै पनि पार्टी कमिटीहरुले कार्यक्रममा बोलाउँदैन थिए । माधवकुमार नेपाल लाइनको दबदबा थियो । त्यस्तो संकटको बेलामा पनि ७५ जिल्लामध्ये विनोद ढकाल मोरङबाट र काभ्रेबाट गोकुल बास्कोटाले मात्रै जिल्ला अध्यक्षमा जितेका थिए । त्यसपछि भने ओलीलाई दुई जिल्लाले स्पेश दिन थाले । खुम्चिएर बसेका ओलीलाई दुई जिल्लाले राहत दियो ।
अध्यक्षमा निर्वाचित बास्कोटा र ढकाल केपी ओलीका ज्यान दिन तयार हुने खालका थिए । ७१ सालको महाधिवेशनमा ओलीले झलनाथ खनाल गुटबाट आएका इश्वर पोरखेललाई महासचिव बनाए । इश्वर पोखरेलले आफ्नो टिमबाट कोशी अञ्चलमा केन्द्रीय सदस्यको उम्मेद्वार राजेन्द्र गौतमलाई बनाए । आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने ढकालको चाहनामा ओलीले ब्रेक लगाइदिए । ओलीले आफ्नो गुटबाट गौतमलाई उम्मेदवार बनाए र ढकाललाई वैकल्पिक केन्द्रीय सदस्य बन्न सुझाव दिइयो । ढकालले त्यसबेला उम्मेदवारी दिएनन् ।
ढकालले अस्वीकार गरेपछि ढकालको ठाउँमा तेह्रथुमका किशोरचन्द्र दुलाल उम्मेदवार बने । तर निर्वाचनमा दुलाललाई पराजित गर्दै धर्म गौतम निर्वाचित भए । यस्तै ओली लाइनबाट केन्द्रीय सदस्यमा उठेका राजेन्द्र गौतमलाई विराटनगरका जीवन घिमिरेले पराजित गरे । त्यतिखेरदेखि ओलीसँगको ढकालको सम्बन्धमा दरार सुरु भयो । त्यही बिन्दुबाट ढकालका प्रतिस्पर्धीहरुले ओलीसमक्ष नकारात्मक कुरा सुनाउँदै गए । अतिरञ्जित लान्छनाहरु ओलीलाई भरिदिए ।
नवौं महाधिवेशनमा सुरु भएको टसल फेरि मोरङ अध्यक्ष बन्नका लागि ढकालले ओलीसँग सम्बन्ध सुधार गरे । तर, चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट ढकाल पोलिटब्यूरो सदस्यमा जान चाहेका थिए । ओलीले त्यसबेला केन्द्रीय सदस्य मात्रै बनाए । त्यहाँबाट पुनः उनीहरुको सम्बन्धमा दरार आयो । त्यही दरार र विवादका कारण कोशी प्रदेशको प्रथम अधिवेशनमा ओलीले ढकाललाई साथ दिएनन् । त्यही कारण ढकालले हारे र अर्का प्रतिस्पर्धी घनश्याम खतिवडाले जिते ।
खतिवडा पहिलेदेखि नै राजेन्द्र गौतमसँग नजिक थिए । जतिबेला राजेन्द्र गौतम मोरङमा कार्यक्षेत्र बनाउँथे त्यसबेला पनि खतिवडालाई नै उनले चेप्ने गर्दथे । खतिवडा पनि पोखरेल लाइनबाटै आएका हुन् । त्यससँगै स्थायी समिति सदस्यहरु हिक्मत कार्की, भानुभक्त ढकालहरु विनोद ढकालको क्षमताबाट डराइरहेका थिए ।
‘विनोद ढकालले हामीले भनेको मान्दैन भनेर कार्की, ढकाल, गौतमलगायत नेताहरु ओलीसमक्ष गएर रोक्न लागेपछि अहिले समस्या प¥यो,’ एक नेता भन्छन् । त्यही सन्दर्भमा पार्टीमा लामो समयसम्म काम गरेका खतिवडालाई पनि ठाउँ दिनुपर्ने ओलीको चाहना थियो । खतिवडाले पनि अध्यक्ष ओलीले भनेको मान्दै आए । निर्वाचन क्षेत्र पनि ओलीको झापा ५ र खतिवडाको मोरङ १ क्षेत्र आपसमा जोडिँदा निर्वाचनमा सहकार्यको स्थिति पनि बन्यो ।
तर, खतिवडा एमाले–माले विभाजन हुँदा पनि केही महिना मालेमा गएका थिए । पुनः फर्किएर एमालेमै आएका खतिवडा पछिल्लो १०, १२ वर्षदेखि भने ओलीसँगै थिए । त्यसैबेला उनले ओलीलाई गुनासो गर्दथे । ‘मदन भण्डारीसँगै काम गरेको मान्छे पुरानो हुँ मैले केही पाइँन’ भन्ने उनको गुनासो सम्बोधन गर्नका लागि पनि ओलीले उनैलाई दिएका हुन् ।
ढकाललाई ओलीले छेक्नुको कारण ओलीको आदेशको पालना नगर्नु नै हो । ‘केपी ओलीलाई संकटको बेलामा भरथेग गरेको कारण ढकाल अलिकबढी अपेक्षा गर्छन् । तर, ओली खटाएर दिन्छन्,’ ढकालका एक समर्थक भन्छन् ।पछिल्लो समय ओलीसँग भन्दा बढी ढकालको सम्बन्ध पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भयो । भण्डारी एमाले राजनीतिमा आउन सक्ने सम्भावना देखिरहेको बेला ढकाललाई सघाउँदा भविष्यमा असहयोग हुने ओलीले ठाने । ‘त्यो कुराले उनी सशंकित बनेका हुनसक्छन् । त्यो मिडियामार्फत पनि आयो । आफ्नो प्रदेशमा आफूलाई भरथेग गर्ने भरपर्दो मान्छेको रुपमा खतिवडालाई ओलीले अगाडि सारेका हुन्,’ एमालेका कार्यकर्ता नै बताउँछन् ।
ओलीलाई लागेको थियो होला, दशौं महाधिवेशनमा जस्तै मलाई समर्थन छ । तर, त्यो भ्रम अहिले चिरिएको छ । कोशी प्रदेशको निर्वाचनले तेस्रो नेताहरुको प्रतिस्पर्धाबाट ओलीका विरुद्धमा मैदानमा टिम आउँदा उनीहरुको अवस्था के हुन्छ भन्ने अनुमान पनि सो टिमलाई भएको छ । दोस्रो तहबाटै ओलीसँग प्रतिस्पर्धा गर्न सकिन्छ कि विद्या भण्डारी ल्याउने भन्ने विषयमा पनि आवश्यक रणनीति बनाउन ओली विरोधी तप्कालाई सन्देश गएको छ । ‘ओलीले सबैलाई रोक्न खोजेका थिए । मेरा विरुद्धमा जानेहरु खरानी हुन्छन् होस गर है भनेर सन्देश दिन खोजेका थिए,’ ती एमाले नेताले भने, ‘तर, ओलीको त्यो सन्देश आफैं खण्डित हुन पुगेको छ ।’
अर्कोतिर विनोद ढकालको विषयमा ओलीलाई अतिरञ्जित ढंगले तेस्रो तहका नेताहरुले नै कुरा सुनाइदिएका छन् । उनी मन्त्री नभए पनि गाडी–घोडा, सुख, सुविधा छ । त्यसलाई पनि अरु समकक्षीहरुले देखिसहेका थिएनन् । त्यसबाहेक प्रदेशमा प्रतिस्पर्धामा रहेका नेताहरुले पनि ढकाललाई आउट गर्न चाहेका थिए । निर्वाचनमा टिकट वितरणदेखि जिल्ला सम्मेलन लगायतका विषयमा ढकाल हावी हुने प्रतिस्पर्धीहरुलाई डर थियो । प्रदेशबाट ढकालले होल्ड गरेको खण्डमा पदाधिकारीमा जान चाहने नेताहरु पनि चाहना पूरा नहुने अवस्था थियो । अर्को कुरा आफूले भनेको नहुने र आफ्नो कुरा नसुन्देला भन्ने डर पनि ओली पछिका कोशी प्रदेशका नेताहरुलाई थियो । त्यसकारण उनीहरुलाई ‘एस मेन’ नै चाहिएको थियो । त्यो चाहना ढकाल विरोधीहरुले पूरा गरेका छन् ।
‘प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेता भानुभक्त ढकालहरु नेतामुखी भए । उनीहरु फिल्डको कुरा लगेर नेतालाई सुनाउने मात्रै गर्छन् । विनोद ढकाल कार्यकर्तामा पकड जमाएर विराटनगर बसेका हुन् । उनले कार्यकर्तालाई फकाउन, थर्काउन र संरक्षण गर्न जानेका छन्,’ ढकाल निकट एमाले कार्यकर्ता भन्छन््, ‘ढकालले केपी ओलीले भनेको मात्रै गर्दैनन् । उनीसँग आँखा जुधाएर चित्त नबुझेको कुरामा कुरा गर्न सक्छन् । अर्को कुरा अन्यको तुलनामा ओलीसँग खर्च मागेर चुनाव लड्नुपर्ने अवस्था पनि विनोद ढकालसँग छैन ।’नेतृत्वको अनिच्छा र आग्रह विपरीत कार्यकर्ता र प्रतिनिधिको चाहना अनुसार नेतृत्व चयनको विषय निर्वाचनमार्फत भएको छ । अध्यक्षमा विजयी घनश्याम खतिवडालाई शीर्ष नेताहरु (संस्थापन पक्ष)को लाइन पाएर चुनावमा होमिएका थिए । पराजित उम्मेद्वार विनोद ढकाल भने प्रदेशमा एक्लो उम्मेद्वार बनेका थिए ।
पार्टी अध्यक्ष पदमा खतिवडा विजयी भएपनि ढकालले कम मत ल्याएनन् । यसले निर्वाचनमा मतको हिसाबले खतिवडाले जितेपनि राजनीतिक हिसाबले ढकालले जितेको धेरैले बताइरहेका छन् । यस्तै आसन्न जिल्ला सम्मेलनमा पनि ढकालको प्यानल १४ जिल्लामै बन्ने बाटो खुलेको उनी समर्थकहरु बताउँछन् ।