विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक बुधबार बस्यो । बैठकमा सम्बोधन गरेका सबै दलका शीर्ष नेताहरु सहमति, सहकार्य र एकताको लागि आव्हान गरे ।
सरकार गठन र विघटनको चारवटा श्रृंखला पार गरिसकेका उनीहरुले आफैंलाई हासोको पात्र भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । प्रदेशसभालाई सम्बोधन गरेका एमाले, काँग्रेस, माओवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनीहरुले एकता र सहकार्य गर्नुपर्ने कारण प्रदेशसभाको अंकगणितलाई मात्रै देखाएनन् प्रदेशमा देखा परिरहेको धार्मिक, जातीय द्वन्द्व र आन्दोलनहरुबारे पनि गम्भीर भएर कुरा राखे । प्रदेश खारेजको माग, देशको आर्थिक अवस्थाको गिर्दो साखको विषय पनि दलहरुको सम्बोधनमा केन्द्रीय रहयो । एमालेले आफ्नो नेतृत्वको सरकारले आगामी २० गते विश्वासको मत लिन नसकेपनि सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बतायो ।
प्रदेशसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धब थापाले आफूहरु म्यूजिकल खेलमा जस्तो सरकार बनाउने र भत्काउनेमा लागेको भन्दै आफैंप्रति व्यंग्य गरे । ‘कोशी प्रदेशमा हामी म्यूजिकल खेल खेल्न मात्रै व्यस्त भयौं । जम्माजम्मी हामीले प्रदेशको नामकरण गरेको त्यो पनि विवादमा छ’ उनले भने, ‘बाँकी भनेको म्यूजिकल चेयरमा व्यस्त भयौं ।’
उनले अबको विकल्प सहमति, सहकार्य र समन्वय नै रहेको दाबी गरे । विकास निर्माण, बाटोघाटो र अस्पतालको कुरा कहालीलाग्दो अवस्थामा रहेको भन्दै उनले यो अवस्थाबाट प्रदेशलाई मुक्त बनाउने हो भने हामी मिल्नुको विकल्प नरहेकोमा जोड दिए । सरकारको रहर पुगिसकेको भन्दै उनले अब सरकारको लागि होडबाजी नगर्न आह्वान गरे ।
थापाले आफूले दुई महिनामा दुई पटक मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त भएको उल्लेख गर्दै अदालतबाट हटेकोमा कुनै विस्मत नरहेको बताए । आफू मुख्यमन्त्री बन्दा चाडबाडपछि प्रलय हुने सूचना पाएको जानकारी गराउँदै त्यसको सामना गर्न पनि दलहरुबीच एकता जरुरी रहेकोमा उनको जोड थियो । ‘चाडबाडको समाप्तीसँगै प्रदेशमा प्रलय आउन सक्ने देखिन्छ । पहिचानको आन्दोलनको नाममा या धर्मको नाममा हुनसक्छ’ उनले भने, ‘त्यो प्रलयको सामना गर्ने यही प्रदेशसभा भएकोले एकता र समन्वय चाहिएको छ ।’
प्रदेशसभालाई सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेले आफू केन्द्रीत सहमतिको रटान छोड्नुपर्ने बताए । ‘बहुमतले सरकार चलाउने र अल्पमतले प्रतिपक्षमा बस्ने हुनुपर्नेमा जसो गरेर भएपनि सरकारको नेतृत्व गरिरहनै पर्ने भन्ने खालको बालहठका कारण हामी संकटमा धकेलिरहेका छौं,’ उनले भने, ‘जतिबेला आफू नेतृत्मा आयो सर्वदलीय सरकारको रटान गर्ने, अर्कोले सरकार बनाएपछि बहुमतको सरकार ढाल्न अदालत जाने हो भने सहमतिको रटानको के अर्थ रहन्छ ?’
कोशी प्रदेशमा ४० सिट ल्याउनेलाई र १ सिट ल्याउने दलहरुलाई पनि आ–आफ्नो खालको तनाव रहेको उल्लेख गर्दै आङ्बोले ठूलो दलको नाममा व्यक्तिवादी भएर निकास नआउने बताए । ‘आफूसँग यति सिट छ भनेको आधारमा मात्रै आफू केन्द्रीत सर्वदलीय सरकार भन्ने हो भने त्यो चरम व्यक्तिवाद हो’ उनले भने, ‘प्रदेश संकटमा नजाओस् भन्ने हामी सबैको चाहना रहेकोले जिम्मेवार भएर छाती फराकिलो बनाएर अगाडि बढ्नुपर्छ ।’
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईकुमारले प्रदेशमा देखिएको पहिचानको मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । ‘प्रदेशमा र मुलुकमा शान्ति स्थापना गर्ने हो भने सबैले एक पटक सोचेर नामकरणमा बहुपहिचानको कुरा ल्याएर टुंग्याउनु पर्दछ’ उनले भने, ‘सुरक्षा प्रमुखहरुबाट पनि यसलाई सामान्य रुपमा नलिनु भन्ने रिपोर्टिङ भइसकेको छ । त्यसैले सर्पलाई टाउको कुच्याए पनि पुच्छर चलाएजस्तो । सानो कुरा दिँदा शान्ति हुन्छ भने किन नदिने ? यस विषयमा पुनःविचार गर्न म अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
एमाले प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जनादेश संघीय संसदको जस्तो प्रदेशसभाको नरहेको भन्दै गठबन्धन माथिको जस्तै हुन नसक्ने टिप्पणी गरे । त्यसकारण प्रदेशमा सहमति, सहकार्य र सरकार संचालनको मापदण्ड बनाएर अगाडि बढ्न एमाले तयार रहेको उनको भनाइ थियो ।
‘एमालेले सबैभन्दा ठूलो दलको हैसियतले अगाडि ५ वर्ष नै हामी चलाउँछौं भनेका छैनौं’ उनले भने, ‘स्थिर सरकार र सुशासनलाई आधार मानेर आजै, भोली नै एउटा विधि तय गरौं र प्रदेशलाई निकास दिऊ ।’ पटक–पटक सरकार परिवर्तन गर्ने कुराले प्रदेश र संघीयतामाथि नै प्रश्न उठेको भन्दै उनले एमाले त्यसमा चिन्तित रहेको बताए ।
सामाजिक सद्भाव विथोलिने खालका दृश्यहरु देखिएको बताउँदै त्यसलाई रोक्न पनि सबै दलहरु मिल्नुपर्नेमा भण्डारीले जोड दिए । विश्वासको मत पाउँ भन्ने आफूहरुको माग रहेको भन्दै उनले मत नपाए पनि सहमतिको साथ अगाडि बढ्न एमाले तयार रहेको बताए । अघिल्लो सरकारले लिएको विश्वासको मतबारे आफूहरुले अदालतमा परीक्षण मात्र गरेको जिकिर गर्दै उनले त्यसमा एमाले दोषी नरहेको दावी गरे ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि सहमतिमै जोड दिए । ‘प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नआउनु भनेको समन्वयात्मक ढंगमा सरकारलाई सहकार्यबाट संचालन गर्ने जनादेश हो । यो प्रदेशमा हामी सहकार्य र समन्वय गर्न नसकेर हाँस्यको पात्र बनिरहेका छौं,’ उनले भने, ‘यसलाई हामी बुद्धिमतापूर्ण ढङ्गले अगाडि लिएर जान नसक्ने हो भने प्रदेश सरकारको औचित्य माथि प्रश्न उठ्न थालेको छ ।’
सिटौलाले पनि सामाजिक सद्भाव भड्किरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘आज सामाजिक सद्भाव भड्कीएको छ । धर्मको नाममा जातको नाममा सामाजिक सद्भाव भड्कीरहेको अवस्थालाई विचार गरेर सहकार्य गरेर अगाडि जानुपर्ने अवस्था छ’ उनले भने, ‘अब बसौं छलफल गरौं र कोशी प्रदेशको हरेक समस्यालाई समाधान गर्ने र निकास दिनेतर्फ लाग्नुपर्दछ ।’