विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा सरकार गठन र विघटन म्यूजिकल चेयर खेलजस्तो भएको भन्दै अब यस्तो खेल नखेल्न सबै दललाई आग्रह गरेका छन् ।
आज सुरु भएको प्रदेशसभाको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री थापाले गत वर्ष फागुन १५ मा प्रदेशको नामकरणपछि दलहरु म्युजिकल चेयर खेलमा व्यस्त हुँदा सरकारले केहि पनि काम गर्न नसकेको बताए ।
‘कोशी प्रदेशमा हामी म्युजिकल चेयर खेल्नमात्रै व्यस्त भयौं’, उनले भने, ‘जम्माजम्मी हामीले प्रदेशको नाम राख्यौं, बाँकी समय म्युजिकल चेयर खेल्नमा ब्यस्त भयौं, अब त्यसो नगरौं ।’ प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको कुर्सी बदल्ने काम मात्र भएको भन्दै उनले प्रदेशलाई निकास दिन दलहरु मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
कोशी प्रदेशमा प्रदेशसभा निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बनेको थियो । एमाले सरकारबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहिरिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत नपाएर पदमुक्त भएका थिए ।
कार्की सरकार ढलेपछि दमाओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भएका थिए । सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षर लिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री भएका थापालाई सर्वोच्च अदालदतले पदमुक्त गरेपछि सभामुख गौतमलाई राजीनामा गराएर उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।
दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ४ गते विश्वासको मत लिएका थिए । थापालाई विश्वासको मत नदिन उपसभामुखसहित प्रदेशसभाका जेष्ठ सदस्यहरु अनुपस्थित भएपछि काँग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गर्दै विश्वासको मत दिएका थिए । उनले दिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै पुनः सर्वोच्चले थापालाई पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएपछि कार्की मुख्यमन्त्री छन् ।
कार्कीले असोज २० गते विश्वासको मत लिने बताएका छन् । कांग्रेस नेता थापाले कार्कीले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै पुनः अर्को सरकार गठन गर्नुपर्ने अवस्था आउने पनि बताए । उनले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलहरूले मिलेर जानुपर्ने बताएका हुन् ।
सरकार बन्न सकेन भने मध्यवधि रोकेर रोक्न नसकिने भन्दै उनले अहिले मध्यावधिमा जानु उपयुक्त नभएकोले दलहरु मिल्नुपर्नेमा जोड दिए ।