मुख्यमन्त्री कार्कीले २० गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो ।

एमालेका प्रमुख सचेत रेवतीरमण भण्डारीले भने १९ गते संभव नभए विश्वासको मत लिने कार्य २० गते हुनसक्ने बताएका छन् । ‘२० गतेसम्म समय रहेकोले सोहि दिन पनि बैठक राखेर मत लिने हुनसक्छ’ उनले भने ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार उनले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्छ ।

कार्की सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धब थापाले विश्वासको मत लिने प्रयोजनमा सभाध्यक्षको पनि मत लिएको भन्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले थापालाई पदमुक्त गरि कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउने संभावना भने अहिलेसम्म देखिएको छैन । प्रदेशसभामा एमालेको ४० सांसद रहेपनि उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्ने भएकोले मतदानमा सहभागी हुन पाउँदिनन् । त्यो अवस्थामा कार्कीले ३९ मत मात्र पाउने देखिएको छ ।

यसअघि एमालेको गठबन्धनमा रहेको राप्रपाले पनि विश्वासको मत पाउने अवस्था नदेखिएमा कार्कीलाई मत नदिने बताएको छ । राप्रपाले उनलाई मत दिएपनि ४५ मत मात्र पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको मत आवश्यक पर्छ ।

विश्वासको मत पाउने संभावना नरहेकोले मुख्यमन्त्री कार्कीले त्यसअघि नै राजीनामा दिने संभावना पनि रहेको एमाले नेताहरुले बताएका छन् । कार्कीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ५ प्रयोग हुन्छ । त्यो धारा अनुसार प्रदेशसभाको कुनैपनि सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीको दावी गर्नसक्छ । सो उपधारमा प्रदेशसभा सदस्यहरुलाई दलिय ह्विप लाग्दैन ।

बुधबार, १७ असोज, २०८०, दिउँसोको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर