अनन्तराज न्यौपाने
धेरै सन्देशहरू र संकेतहरू प्रवाहित गर्दै नेकपा एमालेको कोशी प्रदेशको अधिवेशन सकिएको छ । देसैभरि एमालेका यस पटकका प्रदेशअधिवेशनहरू फरक प्रकृतिका देखिएका छन् । हुनत, देश संघीयतामा गएको ८ वर्षपछि एमालेले पहिलो पटक प्रदेशअधिवेशन गरेको छ । अब पार्टीका अध्यक्षले गोजीबाट कागज निकालेर प्रदेश इन्चार्ज तोक्ने दिनहरू सकिएका छन् । कार्यकर्ताबाट निर्वाचित नेता नै प्रदेशको नाइके हुनेभएको छ । केपी शर्मा ओलीजस्ता अधिनायकवादी र सर्वसत्तावादी नेता अध्यक्ष भएको पार्टीमा पलाएको यस प्रकारको लोकतन्त्रको अभ्यास आफैँमा सुखद छ । ओलीले पार्टीको केन्द्रीय महाधिवेशनको स्वाङ गरेर खल्तीबाट केन्द्रीय समितिको सूची पढेको हिजोजस्तै लागिरहेका बेला प्रदेश कार्यसमितिको भए पनि निर्वाचन हुनु आफैँमा सकारात्मक छ । यही परम्परा र संस्कार गाउँदेखि जिल्ला हुँदै केन्द्रसम्म पुग्यो भने पार्टीको लोकतान्त्रिकीकरण हेर्न धेरै समय पर्खनुपर्दैन ।
तर कोशी प्रदेशको मतपरिणामले भने अध्यक्ष कमरेड ओलीको अधःपतनको यात्रा सुरु भएको स्पष्ट सङ्केत गरेको छ । ओली नेकपा एमालेको इतिहासमा २०७१ असारमा सम्पन्न नवौँ महाधिवेश देखि हालसम्म अध्यक्ष पदमा आसीन छन् । आसीन मात्र होइन रजगज गरेर बसेका छन् । भनिन्छ, लोकतन्त्रको प्राण भनेको फरक विचार हो । फरक मत र विचार भएर नै लोकतन्त्र जीवित र पल्लवित हुन पाउँछ । तर ओलीका अगाडि फरक मत र विचारको कुनै गुन्जायस छैन । उनी यसलाई मास्न अहर्निश उद्यत छन् । उनकै यही डिजाइनमा परेर माधव नेपालहरू पाखा लगाइए । भीम रावल र घनश्याम भुसालहरू छायामा परे । अन्य धेरै फरक विचारका नेताहरू अहिले खैनी माडेर बसेका छन्, तिनलाई कुनै जिम्मेवारी दिइएको छैन ।
यसैबिच योगेश भट्टराईजस्ता केही स्वाभिमान र आत्मसम्मान नभएका नेताहरू फरक विचार र मत छाडेर ओलीका दास हुन पुगे । र, आफ्नो राजनीति जोगिएको अनुभव गरे ।ओलीको फरक विचार र मत मास्ने अभियानमा यस पटक कोशी प्रदेशमा विनोद ढकाल परेका छन् । ओलीका अघिपछि नागकुण्डलीझैँ बसेका भानुभक्त ढकाल, शेरधन राई, राजेन्द्र गौतम, तिलकुमार मेन्याङ्बो, शिवमाया तुम्बाहाम्फेदेखि योगेश भट्टराई र ऋषिकेश पोखरेलसम्मले ढकालका विरूद्ध क्याम्पेनिङ गरे । यी केन्द्रीय नेताले मतदातालाई भोलि पार्टीको नेतृत्वमा पुग्ने हामी नै हौँ, अहिले हामीले भनेको तिमीहरूले मानेनौ भने भोलि तिमीहरूको राजनीति जुनसुकै बेला पनि खतरामा पर्नसक्छ भनेर धम्क्याए । यसपछि मतदाताहरू घनश्याम खतिवडालाई मत दिन बाध्य भए । केन्द्रीय नेताहरू नै धम्कीको राजनीतिमा उत्रिएपछि ढकालको सादगीपूर्ण राजनीति हार्न विवश भयो ।
यस अधिवेशनले एमालेभित्र दासप्रथा अझै जीवित रहेछ भनेर पनि प्रमाणित गरेको छ । ओली आफ्नो पार्टीभित्र सचेत र क्रियाशील मतदाता मौलाएको होइन आफ्ना दासहरूको सङ्ख्या बढेको हेर्न चाहन्छन् । उनको यही अधिनायकवादी सोचको भुङ्रोमा परेर खरानी भइएला भन्ने डरले भानुभक्त र शेरधनदेखि ऋषिकेशसम्मका नेताहरू ओलीको दास बन्न बाध्य छन् । ओलीले सोझो रुखलाई बाङ्गो भने पनि हो सरकार भनेर जदौ गरिरहेका छन् । अनि यही जदौ परम्पराका खतिवडालाई सहयोग गरेर ओलीदासहरूले पार्टीभित्रको दासपरम्परालाई जोगाएका छन् ।
चुनावको परिणामसँगसँगै एमालेमा पुस्तान्तरणको राजनीति छायामा परेको छ । एमालेका अधिकांश युवाहरू रास्वपा र बालेनतिर गइरहेका बेला कोशी प्रदेशमा बुढो नेतृत्वको चयन गरिएको छ । विद्रोही चेत भएका र परिवर्तनकामी युवाहरूका लागि यसरी एमाले आकर्षणको पार्टी होइन भन्ने प्रमाणित भएको छ । जेजस्तो भए पनि र ५७ वर्षकै भए पनि खतिवडाभन्दा ढकाल नै कान्छा थिए र युवाहरूलाई परिचालित अनि उत्प्रेरित गर्नसक्ने सीप र क्षमता पनि उनमै थियो । तर देशका सम्पूर्ण पार्टीले पुस्तान्तरण खोजिरहेका बेला एमालेमा प्रौढ नेतृत्वको चयन त्यसै पनि सुखदायी मान्न सकिँदैन ।
निर्वाचनमा विजयी भएका खतिवडा ओली पक्षका हुन् र ढकाल विद्या भण्डारी पक्षका । निर्वाचनमा ढकाललाइ हराउन ओली पक्षले वैध÷अवैध र उचित÷अनुचित सबै प्रकारका हतियारहरूको प्रयोग ग¥यो । पहिले ओली पक्षले प्यानलको लिस्ट नबाँड्ने भन्यो, पछि यही समूहले लिस्ट बाँड्यो । यो बेइमानी र अनैतिकताको हद थियो ।
यो प्रदेश ओली र विद्या दुबैको गृहप्रदेश हो । तर पनि पार्टीको होस् वा राज्यको शासनसत्तामा ओली नै धेरै बसेका छन् । पार्टीभित्र उनले जे चाह्यो त्यही हुन्छ । भनौँ, पार्टीभित्र उनी एमालेभित्र रजगज नै गरेर बसेका छन् । प्रधानमन्त्री हुँदा पनि उनको रजगज भीमकाय नै थियो । अहिले पनि ओली लुई चौधौँझैँ राज्य मै हुँ भन्ने अहङ्कारमा डुबेका छन् । यस्तो अवस्थामा ओलीको समूहलाई चुनौती दिएर कोही पनि प्रदेशअधिवेशनमा प्रत्याशी हुन्छ भने उसको जोखिम मोल्नसक्ने साहस, धैर्य र गतिशीलतालाई सलाम गर्नुपर्ने हुन्छ । अधिनायकवादी ओलीका साम्राज्यमा ढकाल फरक विचारसहित उम्मेदवार थिए, यो नै उनको एक साहसी नेताको परिचय थियो ।
अर्कातिर विद्या राष्ट्रपति भएयता कहिल्यै पनि सक्रिय र मूर्त राजनीतिमा देखिएकी छैनन् । पार्टीभित्र उनी सक्रिय हुने हल्ला मात्र चलेको छ । तर लामो समयदेखि उनको राजनीतिक गविविधि भने शून्यप्राय छ । गाउँदेखि केन्द्रसम्म जे छ ओलीकै छ । यस्तो रजाइँका बेलामा पनि ओलीपक्षीय घनश्यामले अत्यन्त थोरै ८२ मतले मात्र जितेका छन् । ओलीको अधःपतनको सङ्केत यही हो । ओलीका गृहक्षेत्रमा खतिवडाले दोब्बर मतले जित्नसक्नु पथ्र्यो । तब, ओली यहाँ बलिया रहेछन् भन्ने प्रमाणित हुन्थ्यो । तर यस चुनावले उनी निम्छरा साबित भएका छन् । अब मूर्त र क्रियाशील राजनीतिमा विद्या निस्किइन् भने ओलीको राजनीतिले अस्ताचलको यात्रा तय गर्नुको विकल्प देखिँदैन ।