कोशीमा दशौं महाधिवेशनको झल्को : खतिवडासँग होइन ढकालको प्रतिस्पर्धा ओलीसँगै

अध्यक्ष ओलीसहित प्रायः शीर्ष नेताको घराबन्दीमा परेर पनि नेता विनोद ढकालले उल्लेख्य मत ल्याउनु उनको विजय हो ।

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश । उनकै दबदबा । यस्तै अध्यक्ष ओलीसहित शीर्ष नेताको ‘इशारा’, अघोषित चेतावनी, नेताहरुकै घेराबन्दी र असन्तुष्टिकाबीच कोशी प्रदेशमा एमाले अधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनमा देखिएको विवाद र गुटबन्दीलाई अबको नेतृत्वले कसरी मिलाएर अगाडि बढ्छ त्यो भने आगामी दिनमा देखिने नै छ ।

नेतृत्वको अनिच्छा र आग्रह विपरीत कार्यकर्ता र प्रतिनिधिको चाहना अनुसार नेतृत्व चयनको विषय निर्वाचनमार्फत भएको छ । अध्यक्षमा विजयी घनश्याम खतिवडालाई शीर्ष नेताहरु (संस्थापन पक्ष)को लाइन पाएर चुनावमा होमिएका थिए । पराजित उम्मेद्वार विनोद ढकाल भने प्रदेशमा एक्लो उम्मेद्वार बनेका थिए ।

पार्टी अध्यक्ष पदमा खतिवडा विजयी भएपनि ढकालले कम मत ल्याएनन् । मतको प्रारम्भीक रुझान सार्वजनिक भएपछि नै ढकालले आफू हार्ने निश्चित देखे र मतगणनास्थलबाट समर्थकसहित बाहिरिए । त्यसक्रममा उनले भने, ‘राजनीतिमा हारेर पनि जित हुन्छ, यो निर्वाचनमा राजनीतिक हिसावले मैले जितेको छु, यो हार भएपनि मेरो जित हो ।’ उनलाई समर्थकहरूले पनि त्यही भनेर सहानुभूति दिइरहेका छन् । तर, ढकालले हारेर पनि कसरी जिते भन्ने केही दृष्टान्तहरु छन् ।

जस्तैः अध्यक्ष केपी शर्मा ओलीको छेकबारलाई पराजित गर्दैै उम्मेद्वार बन्नु र सम्मानजनक मल ल्याउनु उनको जित हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ताको दुरुपयोग गरेर महाधिवेशन प्रभावित पार्नकै लागि मन्त्री नियुक्त गरे । पार्टीका स्थायी समिति सदस्यहरु शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, तिलकुमार मेन्याङ्बो, शिवमाया तुम्बाहाम्फे, योगेश भट्टराईसम्म ढकालविरुद्ध लागे । त्यतिमात्रै होइन एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेल दुईदिनसम्म विराटनगर बसेर ढकाललाई रोक्ने रणनीति बनाए । एमालेमा हुन लागेको आसन्त जिल्ला सम्मेलन केन्द्रीत पदका आश्वासनहरु बाँडियो । कतिपय ढकाल समर्थकहरुलाई मतदानमा सहभागी हुनै दिइएन । प्यानल नबनाउन शीर्ष नेताबाटै निर्देशन थियो । तर, नेताहरुकै समर्थनमा उम्मेद्वार बनाएकाहरुले प्यानलको लिष्ट नै बाँडे । प्यानलका लिष्ट बाँडेको थाहा पाएपछि एकले अर्कोपक्षलाई रोक्ने र विवाद सिर्जना हुने परिस्थिति नै बन्यो । अर्थात् एमालेका सम्पूर्ण नेताहरुको शक्ति एकातिर र एक जना विनोद ढकालको शक्ति एकातिर हुँदा पनि खतिवडाले ८२ मत अन्तरले मात्रै जित निकाल्न सफल भए । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे । ‘यो परिणामले प्रदेशमा अध्यक्ष ओली पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ,’ एमालेका एक पुराना कार्यकर्ताले भने, ‘उनका हरेक निर्णय पार्टीभित्र सर्वस्वीकार्य हुन्छन् भन्ने गरी उनले स्थापित गर्न खोजेका भाष्यहरु पनि खण्डित भए ।’

एमालेका स्थायी समिति सदस्य शेरधन राई भने उक्त कुरालाई अस्वीकार गर्छन् । ‘एमालेमा कुनै लाइन छैन, विचार समूह छैन, गुट छैन,’ राईले भने, ‘एमाले एकतबद्ध छ ।’ अधिवेशनमा देखिएका सामान्य तिक्तताहरु विराटनगरमा सेलाएर जाने उनी बताउँछन् । ‘चु्नावी परिणामलाई लिएर पार्टीभित्र विभाजन र तिक्तताको कुरा हुनुहुँदैन । यसलाई सम्पूर्ण नेता कार्यकर्ताले स्वभाविक हिसावले लिनुहुन्छ भन्ने मलाई लागेको छ,’ चुनावी परिणाम आएपछि प्रतिक्रिया दिँदै राईले भने, ‘प्रतिस्पर्धामा भाग लिनु सकारात्मक पक्ष हो । यो परिणामलाई स्वभाविक मानेर शिरोधार्य गरेर कार्यकर्ताको भावना अनुरुप अगाडि बढ्नुको विकल्प छैन । अधिवेशनमा देखिएको बाछिटा र तिक्ततालाई यही छोडेर जानुपर्दछ ।’

उनले प्रदेश अधिवेशनको क्रममा केही अवान्छित गतिविधि भने भएको बताए । ‘कम्पाउण्डभित्र नहुनुपर्ने अवान्छित कार्यहरु भए …. । तर नेतृत्व चयन गर्दा लिष्ट बाँडिएको कुरालाई लिएर नै प्यानल बनाएको अर्थ लगाउनु हुँदैन । २ सय मान्छेहरु छान्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा प्रतिनिधिहरुले मान्छे नचिन्न सक्छन् भनेर उम्मेद्वार चिनाउन त्यस्तो लिष्ट प्रयोग भयो होला । तर, त्यसैलाई माथिबाटै प्यानल खडा गर्न लागिएको, ग्रुपिजम बनाइएको भन्ने मलाई लाग्दैन,’ राईले भने, ‘हामी मैदानमा उत्रिएको भए परिणाम अर्कै हुन्थ्यो । हामी लागेका होइनौं । कसैले आत्मसन्तुष्टिका लागि भन्नु, चिया गफ गर्नु अर्के कुरा हो । तर, हामी लागेका छैनौं ।’

राईले यसो भनिरहँदा निर्वाचनबाट विजयी हुनेहरूले अविर जात्रा र विजयोत्सव मनाइरहेका थिए । तर, अर्को पक्ष भने अनुपस्थित रहयो । आफू विजयी भएपछि प्रतिक्रिया दिँदै खतिवडाले भने आफूहरुको प्रतिस्पर्धा गुट वा समूहको नभएर एमालेबीचमा स्वस्थ प्रतिस्पर्धा भएको बताए । ‘बुझाइमा फरक नपार्न मिडियालाई आग्रह गर्दछौं । हामीले जिम्मेवारी प्राप्त गर्नका लागि प्रतिस्पर्धा गरेका हौं । मेरो स्वार्थ नेकपा एमालेलाई दह्रो बनाउनु बाहेक अर्को विकल्प छैन । यसलाई लवि र धारको रुपमा नबुझिदिन अनुरोध गर्दछु,’ उनले भने, ‘म नेकपा एमालेको एसमेन हो । एमालेको महाधिवेशनले गरेको फैसलाहरु एमालेलाई क्षति नपुग्ने गरी अगाडि बढ्न म प्रतिबद्ध छु ।’

आफू विजयी भएपछि गर्व अनुभूति गरेको उनले बताए । ‘काँधमा गह्रौ भारी बोकेको छु । यो जिम्मेवारीप्रति म गम्भीर छु । मलाई जिम्मेवारी दिने साथीहरुको भावनामा चोट नपुग्ने गरी अगाडि बढ्छु,’ उनले भने, ‘मैले पार्टीको डोको बोकेको छु । इमानको डोको फाल्दिन, पार्टीले नारेको जुवा, हलो भाँचेर हिंड्ने मान्छे होइन म । पार्टीले नारेको हलो तान्छु । मसँग कुनै पनि स्वार्थ समूह, गुट हुनेछैन ।’उनले आफूसँग पराजित हुने विनोद ढकाललगायतको टिमसँग पनि सौहाद्रपूर्ण वातावरण रहेको प्रतिक्रिया दिए । ‘विनोदजीले १४ वर्षपछि आमने–सामने भइएछ भन्नुभयो । यस पटक म जित्छु तपाई हार्नु, अर्को पटकको प्रतिस्पर्धामा तपाईलाई छोड्छु भनेर मैले भनेको छु,’ उनले भने ।

खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक हो । २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसबेला खतिवडा माधवकुमार नेपाल लाइनमा थिए भने ढकाल ओली पक्षका थिए । त्यसबेला ढकालले बाजी मारेका थिए । १४ वर्षपछि खतिवडाले ढकालसँग बदलदा लिएका छन् । खतिवडाले अब ३ वर्ष प्रदेशमा एमालेको नेतृत्व गर्नेछन् ।

एमाले कोशीको अधिबेशनलाई १० औं महाधिबेशनको झल्को दिएको थियो । उक्त महाधिबेशनमा केपी ओली र भीम रावलविच प्रतिस्पर्धा भएको थियो । कोशीमा भने पात्र मात्रै फरक भएका थिए । महाधबिशनकै झल्को दिनेगरी ढकालइतर समुहले त्यस्तै गतिविधि गरेका थिए ।
को हुन् खतिवडा र ढकाल ?

२०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको रुपमा उम्मेद्वार बनेका खतिवडा थोरै मतले पराजित बनेका थिए । त्यसपछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए ।त्यसपछि भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा भने माओवादीसमेतको सहयोगमा विजयी भए । २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट एमालेका उम्मेद्वार बनेका उनी काँग्रेस नेता डिकबहादुर लिम्बूसँग पराजित बने । खतिवडा ४८ वर्षदेखि एमालेको राजनीतिमा निरन्तर लागेका निष्ठावान नेता हुन् । उनी हाल प्रदेश समितिको प्रचार विभागका प्रमुख थिए । प्रदेशको अध्यक्षमा प्रतिस्पर्धा गरेका उनी विजयी भएसँगै अब देशको ठूलो पार्टी एमालेको केन्द्रीय समितिको स्थायी समितिको हैसियतमा रहने भएका छन् ।

ढकाल भने २०४२ सालदेखि विराटनगरको राजनीतिमा निरन्तर सक्रिय छन् । २०४७ सालमा अनेरास्ववियुको मोरङ जिल्ला अध्यक्ष भएका उनले दुई कार्यकाल काम गरे र केन्द्रीय कमिटीको उपाध्यक्ष पनि बने । २०७३ मा पार्टीको मोरङ जिल्ला अध्यक्ष निर्वाचित भएका ढकाल गत वर्ष चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका हुन् । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको विरोध गरेका कारण उनी ६ महिना जेल परे । २०६५ को संविधानसभा उपनिर्वाचनमा पराजित भएका उनी २०६६ सालमा एमाले मोरङ अध्यक्ष निर्वाचित भए । उनी २०७४ सालमा विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसकै भीम पराजुलीसँग पराजित भए । यस्तै गत मंसिर ४ गते भएको निर्वाचनमा ढकाल मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेपनि विजयी हुन सकेनन् । यस्तै पार्टीको केन्द्रीय समितिमा रहेका ढकालले प्रदेश अध्यक्षको उम्मेद्वार बनेर पराजित बनेसँगै सो पद पनि गुमाउन पुगेका छन् ।

मङ्गलबार, १६ असोज, २०८०, दिउँसोको ०१:३९ बजे

प्रतिक्रिया

  1. अध्यक्ष कमरेडको बागमति पछिको अर्को सफलता कोशीमा, तर गुटबन्दी होइन भन्नु चाही सफेद झुट । बरु पार्टीको सफलताको लागि गुटबन्दी अनिबार्य भएकोले त्यसैको निरन्तरता हो भन्न दोस्रो तहका नेतालाई के को संकोच ? खुल्ला बाताबरणमा खुल्लै कुरा गरेर नढाट्दा सबै एउटै गुटमा आउने संभाबना झन बढी हुनु पर्ने हो । तर यसो गर्दा ब्यक्तिगत स्वार्थ भने पुरा हुदैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर