एमालेका २० प्रतिनिधि मतदान अनुपस्थित, सांसददेखि उम्मेदवारसम्मले गरेनन् मतदान

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा उम्मेदवार स्वयं नै मतदानमा सहभागी नभएको पाइएको छ । पार्टीको अधिवेशनमा प्रतिनिधि भएर मतदान गर्न अधिवेशन हलमा उपस्थित भएपनि मतदान नगर्ने कार्यकर्ताहरुको खोजी गर्ने क्रममा उम्मेदवार र जिम्मेवार नेताहरुले नै मतदान नगरेको पाइएको हो । कुल ९९७ प्रतिनिधिमध्ये २० जनाले मतदान नगरेपछि कार्यकर्ताहरुले उनीहरुको पहिचान गरी नाम सार्वजनिक माग गर्दै सामाजिक सञ्जाल रंग्याउन थालेपछि खोजी सुरु भएको थियो ।

निर्वाचन कमिटीले मत नहाल्नेहरुको नाम सार्वजनिक नगरेपनि सम्बन्धित जिल्लाका नेताहरुले भने आफ्नो जिल्लाबाट आएर मतदान नगर्ने प्रतिनिधिहरुको नाम बताएका छन् ।यसरी मतदान नगर्नेमा उम्मेद्वार बनेकादेखि प्रदेश सांसदसम्म रहेका छन् । कोही प्रतिनिधि भने विदेश जानका लागि मत नहाली काठमार्डौ एयरपोर्ट पुगेको एमाले नेताहरुले बताएका छन् ।झापाकी प्रदेश सांसद तारा ढकाल अचानक बिरामी भएपछि मतदानमा सहभागी नभएको बताइएको छ । उनी अस्पतालमा भर्ना भएको एमालेका एक जना नेताले बताए ।

त्यस्तै झापाकै गणेश बस्नेत भने विदेश जानका लागि काठमाडौँ पुगेको बताइएको छ । बस्नेत क्यानडा जाने तयारीमा छन् ।प्रदेश सदस्यमा उम्मेदवारी दिएका संखुवासभाका पृथक पाठक मतदान गर्न नआएको खुलेको छ । उनलाई उम्मेदवारी फिर्ता गरेर यथोचित जिम्मेवारी दिने नेताहरुले प्रयत्न गरेको तर उनी नमानेपछि मतदान नगरी हिँडेको बताइएको छ ।

धनकुटाका नगरपालिका मेयर चिन्तन तामाङ पनि मतदान नगरी विदेश जानका लागि काठमाडौँ पुगे । तामाङ अस्ट्रेलिया जान लागेका हुन् ।
धनकुटाका सुरेन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् । सुनसरीको बराहक्षेत्रबाट चुनाव लडेर विजयी भई प्रतिनिधि बनेका केदार विष्ट पनि मतदान गर्न आएनन् ।

भोजपुरका पूराना नेता धनहर्क राई भने बिरामी भएका कारण अधिवेशनमै सहभागी नभएको एमाले भोजपुरले जनाएको छ । जिफन्टबाट प्रतिनिधित्व गर्दै मोरङबाट प्रतिनिधि बनेकी कला डाँगी पनि मतदानमा सहभागी भइनन् ।इलाम चुलाचुलीका पूर्वअध्यक्ष प्रदिपचन्द्र राई, डम्बरबहादुर कार्की र थम्बर थामी पनि मतदानमा सहभागी भएनन् । उनीहरुले भने मतदान गरेर सही गर्न बिर्सिएको दाबी गरेका छन् ।
पाँचथरका अमर राई पनि मतदानमा सहभागी नभएको सचिवका उम्मेदवारसमेत रहेका राजकुमार भण्डारीले बताए ।

सोलुखुम्बुका कुमार राई बिरामी भएका कारण अधिवेशनमा सहभागी भए पनि उनलाई उपचारका लागि काठमाडौ लगिएको थियो ।मतदान नगर्ने अरु प्रतिनिधिको नाम प्राप्त हुन सकेको छैन् । कतिपय प्रतिनिधिले विदेश जाने बुझ्दै किन नेताहरुले अरुलाई रोकेर प्रतिनिधि बनाएको भनेर प्रश्न गरेका छन् । धनकुटाका एक प्रतिनिधिले तामाङ विदेश जाने थाहा हुँदाहुँदै प्रतिनिधि बनाइएको बताए ।

कतिपय बिरामी र अपरेशसनको समय थाहा हुँदा हुँदै पनि प्रतिनिधि बनाएर ल्याइएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

मङ्गलबार, १६ असोज, २०८०, बिहानको १०:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर