अर्जुन आचार्य
कम्युनिष्ट राजनीति, झापा विद्रोह हुँदै आएको नेकपा एमाले देशको स्थापित राजनीतिक शक्ति हो । सुरु सुरुमा सो पार्टी कति कट्टर थियो भने कोकाकोला खाएको निहुँमा (साम्राज्यवादी झोल भन्दै) कार्यकर्ता कारबाहीमा पर्थे । जाँड, रक्सी, चुरोड, बिँडी त कम्युनिष्टहरुले छुनै हुँदैन थियो । सांस्कृतिक विचलनको डण्डाले उनीहरुको राजनीति सक्किन्थ्यो । यौन र सौन्दर्यका लामा लामा प्रशिक्षणहरु चलाइन्थ्यो । छाडापन र उच्छृङ्खलतालाई निषेध गरिन्थ्यो ।
कतिपयले अहिले पनि भन्ने गर्छन्, ‘त्यसबेलाको आदर्श, त्यसबेलाको त्याग, समर्पण, अनुशासन साँच्चै अनुकरणीय थियो ।’ कम्युनिष्टहरुलाई हेरेर समाज र समुदाय प्रभावित हुन्थ्यो । सादा जीवन, उच्च विचार उनीहरुको मूल मन्त्र थियो । जनताको जीवनशैली र देश समृद्ध, स्वाभिमानी बनाउने उनीहरुको कर्म थियो । त्यसबेला त्यही आदर्श पछ्याएर जन्मिएका नेताहरु पुष्पलाल, मनमोहन र मदनहरु थिए । तर, अहिले ती आदर्शवान नेताहरु छैनन् । छन् त केपी शर्मा ओली र उनका अनुयायीहरु । जसले जीवनभर छलछाम र षड्यन्त्रबाहेक केही गरेनन् ।
त्यही आलोकमा जन्मिएको र ओलीको नेतृत्वमा भएको पार्टीको महाधिवेशनमा अहिले नेतृत्व छनौट गर्दा मतदानस्थलमा बियर र रक्सीका कार्टुन राखिन्छ । नेकपा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशन अहिले विराटनगरमा चलिरहेको छ । धेरै एमालेका कार्यकर्ता साँझ परेपछि भट्टीमै भेटिन्छन् । धेरै एमालेका प्रतिनिधिहरुको मुख गन्हाउँछ । जीवनशैली जनताको जस्तो छैन । सुकिला, मुकिला र व्यापारीहरुको भएको छ । अधिवेशनस्थलमा सरकारी गाडीको लस्कर देखिन्छ । पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु सरकारी गाडीमा लस्करै आएका छन् अर्थात् उनीहरुले राज्यकोषको दुरुपयोग पनि गरिरहेका छन् । प्रदेशका मन्त्रीहरु नआउने कुरै भएन । पिए र ड्राइभरहरु कार्यकर्ता ओसार्न व्यस्त छन् । निर्वाचन आफ्नो पक्षमा पार्न सिंगो प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरु आ–आफ्नो ढंगले परिचालन भएका छन् ।
‘बुर्जुवाकरण भैसकेको कम्युनिस्टको समस्या भनेकै बाहिर जे देखिन्छ त्यो सत्य नहुनु हो, जे सत्य हुन्छ त्यो छोपिनु हो । चुनावी राजनीति र ‘कम्युनिस्ट’का आफ्नै बाध्यता हुन्छन् । उसले छाप्रो र महल दुवैको प्रतिनिधित्व गर्छु भन्नुपर्छ । दुवै वर्गलाई खुसी पार्नुपर्छ । कम्युनिस्ट पार्टीका नाममा झुट बोल्दै भ्रमित जनमतको सहारा लिनुपर्छ,’ विश्लेषक तथा लेखक नरेन्द्रजंग पिटरको एक लेखमा उल्लेख छ ।
ठीक त्यस्तै एमाले अधिवेशनमा भन्ने एउटा र गर्ने अर्को भइरहेको छ । उदाहरणको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेल विराटनगरमा आए र भने, ‘गुटबन्दी हामीलाई मान्य हुँदैन, प्यानल बनाए कारबाही गरिन्छ । कम्युनिष्ट आन्दोलन हाम्रो काँधमा छ ।’ तर, उनीहरु आफैंले गुट परिचालन गरेर गए । उनीहरुले प्यानल बनाउन अह्राए र चेतावनीको भाषामा भने, ‘हाम्रो इशारा बुझ्नु ।’ दुईदिनसम्म उपाध्यक्ष र महासचिवद्वय पोखरेल विराटनगरमै बसे । स्थायी समितिका भनिएका अधिकांश नेताहरु एकजना उम्मेद्वारलाई काखी च्यापेर हिंडे । अर्का उम्मेद्वार एक्लो साहसका साथ निर्वाचन लड्ने निधो गरे । कम्युनिष्टमा धर्म हुँदैन, कम्युनिष्टमा इमान हुँदैन, राजनीति छलछाम र षड्यन्त्र हो भन्ने चरितार्थ फेरि एमालेले पुष्टि गर्यो । किनकी विगतमा गुण्डागर्दीको छवि बनाएका, गुण्डागर्दीमा लागेकाहरुलाई संरक्षण गरेको आरोप लागेका अध्यक्षका प्रतिस्पर्धी विनोद ढकाललाई त्यसबेला उनको संरक्षणमा परेकाहरु नै अहिले अर्कोतिर लागे । विगतमा ढकालकै वरिपरि घुमेर जाँड र रक्सीका चुस्की लगाउनेहरू माथिको आदेशको पछि लागे ।
रोचक पक्ष त के छ भने एमालेको महाधिवेशनस्थलमा कार्ल माक्र्सदेखि मदन भण्डारी, मनमोहनका कतिपय सान्दर्भिक भनाइहरू व्यानरमा राखिएको छ । जबजको वकालत गरिएको छ । तर, त्यसलाई काल्र्सबर्ग, टुबोर्ग र गोरखा स्ट्रङका कार्टुनले छोपिदिएको छ ।
सुन्दर शिरिषले साहित्य पोष्टमा ‘बाटोहरू’ शीर्षकमा प्रकाशित गरेको कवितामा उल्लेखित हरफहरु छन् ।
सरकार !
हिँड्छ त्यही बाटो
फ्याक्दै आश्वासनका एकमुठी चारा
पुगेर सिंहदरबार
घुट्काउँछ साम्राज्यवादी झोल
तुक्र्याउँदै देशको झण्डामाथि
सल्काउँछ देशको संविधान
लामो कस लिएर
पिच्च थुक्छ राष्ट्रियतामाथि
र विस्तारवादी मातमा लर्बरिँदै
घोषणा गर्छ–
देशमा कोही गरिब छैनन् ।