काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरियतामा रहेपनि बढुवा नभई अवकाश भएका थिए ।

यो आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउनेछ । आयोगलाई तीन महिना समय दिइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्न माग गरेको थियो । विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी तस्करी गरिएको र साउन २ गते ब्रेक(सुमा राखेर तस्करी गरिएको सुनलगायत पटकपटक तस्करीको विषयलाई सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने कार्यदेशसहित आयोग गठन भएको हो ।