विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न नामावली प्रकाशन गरेको हो ।
मनोनयनउपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो । प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यका अनुसार १२ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका भएपनि अब साँझ ५ बजेदेखि मात्र मतदान सुरु हुनेछ । ‘ढिलोमा १२ बजे मतदान सुरु गर्ने तयारी थियो, कार्यतालिकाभन्दा ढिलो सुरु हुने भयो’ उनले भने ।
नामावली प्रकाशन भएसँगै मतपत्र प्रकाशन गर्न पठाइएको आचार्यले बताएका छन् । कोशी एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहेको २१५ सदस्यीय कमिटिको लागि ९९७ जना प्रतिनिधि मतदाता छन् । २१५ सदस्यीय प्रदेश कमिटीका लागि जम्मा ४ सय ५० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।
प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका उमेदवार विनोद ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।
खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् । उपाध्यक्ष टिकाराम चेम्जोङलाई भने दुवै प्यानलको समर्थन थियो । उनी निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशका पाँचथर, इलाम सोलुखुम्वु र धनकुटामा भुगोलतर्फका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अन्य जिल्लामा भने सदस्यका लागि निर्वाचत हुनेछ ।
पाँचथरबाट ४ जना खुल्ला सदस्यमध्ये भवानिप्रसाद लिङ्देन, गोविन्द तामाङ, नरेन्द्रकुमार बस्नेत, धनकुमार पियाकको मात्रै मनोनयन दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिलातर्फ आशारत्न जवेगु र करुणा राई र युवातर्फ दिनेशकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । एकजना दलित सदस्यमा भने पाँचथरबाट मनोनयन नै दर्ता भएको छैन ।
इलामबाट १७ जना नै निर्विरोध भएका छन् । खुल्लातर्फ १०, महिलातर्फ ५, युवा १ र दलित १ गरी १७ जना नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए । इलामबाट खुल्लाबाट धनकुमार श्रेष्ठ ओमनारायण खनाल, केशव शर्मा, कृष्णकुमार शाह, यामप्रसाद अधिकारी, जयप्रकाश राई, काजीमान कागते र गणेश बराल निर्विरोध भएका छन् । महिलातर्फ रिपल राई, शकुन्तला लेप्चा, वृन्दा विश्वकर्मा, सावित्रा शिवा र टीकादेवी घिमिरे, युवातर्फ राजकुमार थापा र देवेन्द्र विश्वकर्मा निर्विरोध भएका छन् ।
सोलुबाट ८ जना सदस्य निर्विरोध भएका छन् । खुल्लाबाट उत्तमकुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र महेश किराती निर्विरोध भएका छन् । महिलातर्फ सूर्यकुमार सुनुवार, पार्वती राई र टासील्हामु शेर्पा निर्विरोध भए । युवामा चरित्र भुजेल र दलितमा डाकबहादुर रणपहेली पनि सदस्य बने ।
ताप्लेजुङबाट युवातर्फ देवसेन आङ्वुहाङ्ग र दलितमा बुद्धिमान परियारको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका छन् । खोटाङमा महिलातर्फ विनादेवी राई, दिलकुमारी राई र पुष्पकला भुजेलको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध भएका छन् । दलितमा खोटाङकै चर्चबहादुर विश्वकर्मा पनि निर्विरोध भए ।
मोरङबाट भने युवा महिला निर्विरोध निर्वाचित भएका छन् । ४ जना युवा निर्वाचित गर्नुपर्नेमा दुई महिला ज्योती चौहान र फुलथुङ्गा खतिवडा निर्विरोध भएका छन् । धनकुटाबाट दलितमा यज्ञकुमारी रुचाल निर्विरोध भएकी छन् । तेह्रथुममा पनि दलितबाट अनुभूती बम नेपाली निर्विरोध निर्वाचित भएका छन् ।
भोजपुरबाट युवामा रोशन बस्नेत र दलितमा सञ्जना दर्जी निर्विरोध भए । मजदुरमा महिलातर्फ माया भण्डारी र निर्मला परियार साथै खुल्लामा सदस्यमा सुशीला पहाडी ढकाल र रुफीना गुरुङ निर्विरोध भएका छन् ।
झापामा ३२ जना खुल्ला सदस्य पदका लागि ७६ जनाको उम्मेद्वारी परेको छ । यस्तै, ३ जना दलित सदस्यका लागि ७ र ४ जना युवाका लागि ९ जनाको मनोनयन दर्ता भएको छ । यस्तै, मोरङ १८ जना खुल्ला पुरुष सदस्य पदका लागि ४६ र ८ जना खुल्ला महिला सदस्य पदका लागि १८ जनाको मनोनयन दर्ता भएको छ ।
सुनसरीमा १२ जना खुल्ला पुरुष सदस्यका लागि २७ जना र ६ जना खुल्ला महिला सदस्यका लागि ८ जनाको मनोनयन दर्ता भएको छ । धनकुटामा पुरुष खुल्ला सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । जसमध्ये ५ जना निर्वाचित हुनेछन् ।