स्नेहा खरेल
बाँसलाई ‘घाँसको राजा’ पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा प्रचलित तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ । तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ ।
जुनसुकै तरिकाले खाए पनि यो एकदमै स्वादिष्ट हुन्छ । यही स्वादकै कारणले होला तामासँग सम्बन्धित गीतहरु पनि बनेका छन् । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।
विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् । विश्वप्रशिद्ध थाई सुप ‘तोमयाम कोङ’ मा तामा अनिवार्य हुन्छ । तामे, भालु, चोया बाँस या निगालोको तामा यसमा प्रयोग गरिन्छ । जापानिजहरुले बाँसलाई ‘किङ अफ ग्रास’ कै नाम दिएर पाकशिक्षामा राखेका छन् । जहाँ बाँस र तामाको फाइदालाई पढाइन्छ ।
चीनमा पनि बाँसको तामा निकै प्रचलित छ । त्यहाँ त बाँसको तामा मात्र नभै पात पनि बिभिन्न हर्बल–टीको रुपमा प्रयोग गरिन्छ । जुन स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ । यो अत्यन्तै मीठो हुन्छ । बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्याउने र स–साना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामाको अम्लीयपन बढ्छ ।
तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । तामामा भिटामिन बी, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छन् । त्यस्तै गरी तामाबाट खनिज तत्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन पाइन्छ । यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ ।
मानव स्वास्थ्यमा यस्ता भिटामिन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको हुन्छ । हामीले यस्ता भिटामिन महँगो मूल्य तिरेर सेवन गर्ने गरेका हुन्छौं । यदि हामीले यस्ता खाद्य तरकारीबाट प्राप्त गर्न सक्यौं भने ठूलो उपलब्धी हासिल गर्ने छौं ।
बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ । पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ । तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ । यो आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी पनि मानिन्छ । यसले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ बाँसको तामा । श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ । यसमा अति न्यून क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन सोझो अर्थमा ओजन कम गर्न मा ठूलो सहयोग पु¥याउँछ ।