हुलास वायर इटहरीमा पनि विस्तार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा चलिरहेको हुलास वायर अब सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि विस्तार भएको छ । इहटरीमा हुलास वायरको ‘मल््टी पर्पस मेल्टिङ युनिट’ सञ्चालनमा आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले नयाँ मेल्टिङ युनिटबाट उत्पादित सामग्रीको शुभारम्भ गरेका छन् ।

दिवाकर गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसनमा अंशवण्डा भएपछि हुलास वायर महेन्द्र गोल्छाको भागमा परेको थियो । महेन्द्रको निधन भइसकेको छ । व्यवस्थापन र सञ्चालन उनकी पत्नी राजलक्ष्मी र उनकी छोरी युक्तिले सम्हालिरहेका छन् ।
उद्योगका प्रबन्ध निर्देशक युक्तिका अनुसार इटहरीको खनारमा ११ बिघा जमिनमा हुलास वायरको नयाँ युनिटको स्थापना गरिएको हो । यहाँको मेल्टिङ युनिटबाट हरेक दिन ४ सय टन बिलेट र २५० टन एमएस सिट उत्पादन गर्न सकिन्छ । हुलास वायरमा चालु पुँजीसहित ३ अर्ब नयाँ लगानी भएको उद्योगका अध्यक्ष राजलक्ष्मीले बताइन् ।

बिलेटबाट टिएमटी छड, एङ्गल, च्यानल र आइबिमको उत्पादन गरिन्छ । एमएस सिटबाट रोल पाइप, स्क्वायर पाइपलगायतको उत्पादन गरिन्छ । एमडी गोल्छाले उद्योगका सबै उत्पादन ‘हुलास’ ब्रान्डमा बजारमा आउने जानकारी दिइन् । उनले उद्योगले अहिले टिएमटीको उत्पादन र विक्रीमा बढी ध्यान केन्द्रित गरेको बताइन् ।

‘परीक्षण उत्पादन र प्रारम्भिक बजारीकरणमा नै टिएमटीको प्रतिक्रिया सबैतिरबाट राम्रो आएको छ’, उनले भनिन् ‘हामी यस उद्योगबाट ७ देखि ४० एमएमसम्मका टिएमटीको उत्पादन गर्दछौं । हुलास वायरको इटहरी युनिटमा भएको प्लान्ट विश्वमै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको हो ।’ गोल्छाले उद्योगले उत्पादन गरेको टिएमटीको ग्रिपिङ उच्चस्तरको भएको बताइन् । ग्रिपिङ राम्रो भएको हुँदा यसले मसला बलियो गरी समात्न सक्ने उनको दाबी छ ।

‘हाम्रा सबै उत्पादन ‘हुलास’ ब्रान्डमा आएका छन् । पहिले पनि बिलेट युनिटबाट यही ब्रान्डमा हामीले टिएमटी, एंगल, च्यानल, आइबिम आदिको उत्पादन गरेका हौ । सरकारको नयाँ नीति आएपछि मेल्टिङ प्लान्ट लगाउनु परेको हो । हामीलाई बजार र ब्रान्डको खासै अभाव छैन’ , युक्तिको भनाइ छ । उनले अन्य ब्रान्डका टिएमटीका तुलनामा ‘हुलास’ ब्रान्डको टिएमटी फ्लेक्जिबल भएको दाबी गरिन् । क्वालिटी कन्ट्रोलका लागि कारखाना परिसरभित्र आफ्नै प्रयोगशाला छ ।

उत्पादनको आरम्भमै दैनिक २ सय टनभन्दा बढी परिमाणमा टिएमटीको विक्री भइरहेको युक्तिले बताइन् । नेपालमा घर बनाउनेमध्ये सबै जसोले इँटा, ढुङ्गा, सिमेन्ट, बालुवा र डन्डीकै प्रयोग गरिरहेको हुँदा टिएमटीको सम्भावना उच्च रहेको उनको भनाइ छ ।उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरेको उनको भनाइ छ । भारतका टाटालगायतका ब्रान्डेड कम्पनीबाट कच्चा पदार्थ ल्याइने पनि उनले जानकारी दिइन् । उद्योगलाई चाहिने कच्चा पदार्थमध्ये ५० प्रतिशत आयात गर्नुपर्ने युक्तिको भनाइ छ ।

मङ्गलबार, १२ भदौ, २०८०, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर