विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालमा स्वस्थ छोरी जन्माएकी फूलकुमारी गुरुङ (नाम परिवर्तन) ले झण्डै दुई महिनापछि मात्रै आफ्नी सन्तानलाई मातृवात्सल्यको न्यानो ममताले सेक्न पाएकी छन् ।

कोशी प्रदेशको एउटा पहाडी जिल्लाको गाउँकी बासिन्दा २६ वर्षीया उनी सकैको प्रेममा परिन् । त्यसक्रममा भएको सहबासमा उनको गर्भ रह्यो । उनको निर्दोषपनले बताउँथ्यो, अनिच्छित गर्भ के गर्ने भन्ने भेउसमेत उनले पाइनन् । अन्ततः गएको असार १३ मा उनले छोरीलाई जन्म दिइन् । जसै उनले छोरी जन्माइन्, उनले विश्वासपूर्वक जीवन सुम्पिएको प्रेमीले नमिठो विश्वासघात गरे । उनलाई उपचार गर्छु भन्ने चिकित्सकले त उनको छोरी पाँच लाख रुपैयाँमा बिक्री नै गरिदिएछन् ।

यसरी प्रेमीदेखि चिकित्सकसम्मबाट धोका पाएकी उनी यतिबेला ओरेक नेपालको संरक्षणमा छिन् । सोमबार हाम्रोमतले भेट्दा फूलकुमारीले छोरीलाई तेल लगाएर सुताएकी थिइन् । केहीबेरमा छोरी निद्राबाट ब्यूूँतिइन् र रून थालिन् । त्यसपछि उनले छोरीलाई काखमा राखेर दुधदानीबाट दूध खुवाइन् । ‘आफूसँग झण्डै दुई महिना छोरी साथमा नहुँदा दूध खान पनि बिर्सिइन् । त्यही भएर बजारबाट दूधलाई दुधदानीमा हालेर खुवाउने गरेको छु,’ उनले भनिन् । त्यसपछि सुनाइन् उनले आफ्नो यहाँसम्मको कहानी ।

कुरा दुई वर्ष अगाडिको हो । उनका प्रेमी गोविन्दसँग उनको भेट भयो । गोविन्द गाउँघरमा सिटी रिक्सा चलाउँथे । गाउँमा आवतजावत गर्ने क्रममा गोविन्दसँग भेट भयो र चिनजान भयो । त्यसपछि गोविन्द नजिकिए र प्रेममा परे । उनीहरूबीच विवाह गर्ने सल्लाह भएपछि सहबास भयो र उनी गर्भवती भइन् ।

त्यो गर्भमा भएको बच्चाले गोविन्द असजिलोमा परेका थिए । उनले प्रेमिका भनिएकी युवतीलाई ९ महिनासम्म सन्तानलाई जन्म दिएर विवाह गर्ने बाचा कसिरहे । तर, गर्भमा शिशु हुकँदै जाँदा त्यसको व्यवस्थापन गरेर युवतीसँगको प्रेम तोड्ने मनस्थिति बनाए । फूलकुमारीलाई गाउँलेले सोध्न थाले, ‘तिम्रो पेट किन ठूलो भएको ?’ छिमेकी र साथीहरुले सँधै यस्तो प्रश्न तेस्र्याउन थालेपछि उनले यो कुरा गोविन्दलाई सुनाइन् । समय बित्दै गयो । गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आए । असार १३ गते सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर गए । उक्त क्लिनिक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा छ ।

कर्णले गोविन्दसँग ३५ हजार रुपैयाँ लिएर फूलकुमारीको प्रसूति ग्रिनक्रसमा गराए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले नै लिए । महिलालाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गराए । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी गुरूङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि फूलकुमारीलाई अस्पतालले १४ असारका दिन दिउँसो डिस्चार्ज दियो ।

अस्पतालमा नर्मल डेलिभरी मार्फत फुलकुमारीले छोरी जन्माइन् । रुँदै जन्मिएकी छोरीलाई हेरेपछि नर्सले लिएर गए । पछि उनले छोरी हेर्न पनि पाइनन् । सोही दिन अस्पतालले डिस्चार्ज दिएको भन्दै उनलाई प्रेमीले लिएर इटहरीतर्फ लागे । इटहरीमा लगेर उनले होटलमा राखे । बच्चा खोज्दा गोविन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिए । होटलमा पुगेको २ दिनपछि राई अस्पताल जान्छु भन्दै प्रेमी फर्किएनन् । होटलमा अलपत्र परेकी सुत्केरी युवतीलाई आफन्तमार्फत सोनापुरमा डेरा खोजेर बसिन् ।

आफूले जन्माएकी छोरी र प्रेमी गायब भएपछि उनी साउन ३२ गते प्रहरी कार्यालय मोरङ पुगेकी थिइन् । उनले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु ग¥यो । प्रहरीले सुरूमा गोविन्द र डाक्टर कर्णलाई पक्राउ गरेको थियो । त्यसपछि पाँच लाखमा मोरङको कटहरी गाउँपालिका २ की मनमाया राजवंशीलाई नवजात शिशु बेचेको तथ्य खुल्यो । अहिले घटनामा संलग्न भएको आरोपमा प्रहरीले उपचारमा संलग्न डा. कर्ण, नवजात शिशुको वाबु गोविन्द, शिशु खरिद गर्ने दिलमाया राजवंशी, उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलासहित ६ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

प्रहरीले शिशुको उद्धार गरेपछि मोरङ प्रहरीले फूलमायालाई भदौ ८ गते शिशु हस्तान्तरण गरेको छ । जन्म दिएको झण्डै दुई महिनापछि छोरी काखमा पाएपछि फूलमायालाई अहिले एउटै चिन्ताले सताएको छ । अब गाउँ कसरी फर्कने ? समाजमा कसरी पुनःस्थापना हुने ? ‘अब म गाउँ जाँदिन होला । समाजमा मलाई बाँच्न गाह्रो हुने भयो,’ उनले भनिन्, ‘छोरीलाई भेटेको छु । यही छोरीलाई हुर्काउँछु । यसैको सहारामा अब बाँच्नेछु ।’ उनलाई अहिलेसम्म घरबाट खोजबखर भएको छैन । उनको अठोट छ ‘यतै संघर्ष गर्छु र छोरीलाई हुर्काउनेछु ।

त्यसो त शिशु साथमा भएका एकल आमाहरुलाई समाजमा पुनःस्थापित हुनै सकस छ । महिलाहरुका लागि कानूनी उपचार त छ तर उनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन त्यो मात्रै पर्याप्त हुँदैन । उनीहरुलाई लामो समय राज्यबाट संरक्षण र अभिभावकत्वको आवश्यकता पर्ने गरेको ओरेक नेपाल मोरङकी प्रमुख सरस्वती दनुवारले बताइन् । यस्ता पीडितलाई केही समयका लागि पुनःस्थापनामा राख्नेबाहेक अरु कुनै संरक्षणको व्यवस्था नभएको बताउँछिन् ।

‘हामीले संघ–संस्थासँग मिलेर केही समय केन्द्रमा राख्न सक्छौँ । त्यसबाहेक अरु त्यस्तो कुनै सहायता छैन,’ उनले भनिन् । सामाजिक पुनःस्थापनाको लागि समाजमा सचेतना जगाउनुपर्ने उनले बताइन् । सामाजिक पुनःस्थापनाको लागि पीडित महिलालाई मनोपरार्मश दिने गरेको उनले बताइन् । राज्यले यस्ता महिलारुको लागि सामाजिक न्याय दिएर स्वरोजगार र आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापना बनाउन सक्नुपर्ने उनले बताइन् ।