विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र महेन्द्र मोरङका विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर रामनारायण दास, बिबिएमका कोडिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन् ।
इन्टर्नसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुसी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभागीय प्रमुख शिक्षकहरूलाई कार्यकक्षमा थुनेका छन् । इन्टर्नसिप रिपोटको शुल्क यस अगाडी १ हजार रुपैयाँ क्याम्पसले लिँदै आएको थियो । केही दिन अगाडीदेखि क्याम्पस प्रशासनले आफूखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरूलाई कार्यकक्षमा थुनिदिएको स्वीयू सभापति जोसवन पौडेलले जानकारी दिए । ‘विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफूखुसी शुल्क वृद्धि गरेपछि हामीले यसअघि निर्णय सच्याउन भनेका थियौँ,’ उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुख सहित शिक्षकहरूलाई कार्यकक्षमा थुनिदिएका छौँ ।’
विद्यार्थीहरूले इन्टर्नसिप रिपोटको साबिकको शुल्क कायम गरिनुपर्ने भन्दै यसअघि २४ घण्टाको समय दिएको थियो । क्याम्पसले शुल्क नघटाएपछि तालाबन्दी गरेको थियो । त्यसपछि अहिले आएर विद्यार्थीहरूले क्याम्पस प्रमुखसहित प्राध्यापक कार्यकक्षमा थुनेका हुन् ।

