सम्पादकीय
अर्थतन्त्रको मुख्य तीन खम्बा मध्ये सहकारी संस्थाहरु जनस्तरमा स्थापना भएर सबैभन्दा तल्लो तहमा हुने उत्पादन र आर्थिक क्रियाकलापहरुमा क्रियाशील छन् । समान उद्देश्य भएका सदस्यहरु मिलेर संगठित सदस्यहरुको हितका लागि काम गर्ने भनेर स्थापना भएका सहकारीहरु पछिल्लो समय आफ्नो उद्देश्य र कर्तव्यबाट विमुख हुँदै गएको देखिएको छ । विशेष गरेर वित्तको कारोबारमा संलग्न सहकारी संस्थाहरु वित्तीय अपराधमामा समेत संलग्न हुन थालेका छन् ।
सहकारीमा आवद्ध भएका सदस्य र ती सदस्यहरुप्रतिको विश्वासमा परेर संस्थामा बचत गर्दै आएका आमनागरिकहरु पछिल्लो समयमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट पीडित बन्न थालेका छन् । पछिल्ला केही महिनायता कोशी प्रदेशमा सञ्चालित ठूला बचत तथा ऋण सहकारी संस्थाहरुले सयौं सर्वसाधारणबाट संकलन गरेको बचत दुरुपयोग गरेर हिनामिना गरिदिएको छ । आफूलाई आवश्यक परेको वेलामा झिकेर काम चलाउँला भनेर टोल बस्तीको नजिकमा रहेका सहकारीलाई गरेको विश्वासबाट सर्वसाधारण नागरिकहरु ठगिएका छन् । उनीहरुमाथि सहकारीले विश्वासघात गरेको छ ।
कोशी प्रदेशमा तुलसी बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै मानिसलाई ठगी गरेको छ । उनीहरुले जम्मा गरेको बचत र मुद्दति खाताको पैसा अपचलन गरेर सञ्चालक फरार भएपछि कयौं व्यक्तिका करोडौं रुपैयाँ नगद जोखिममा परेको छ ।त्यसपछि विराटनगरको धरणिधर बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ता सदस्यहरुलाई त्यस्तै ढंगले ठगी गरेको छ । सहकारीले बचतकर्ताबाट संकलन गरेको बचत फिर्ता गर्न सकेको छैन जसबाट सयौं मानिसहरुले आफ्नो सम्पत्ति गुमाउनु परेको छ भने आर्थिकरुपमा पनि धेरै परिवारको बिचल्ली भएको छ ।
यही क्रममा विराटनगरको माछापुच्छ्र«े सहकारी संस्थाले पनि बचतकर्ताले बचत गरेको १० करोड रुपैयाँ भन्दा बढी रकम घोटाला गरेको खबर सार्वजनिक भएको छ । एकपछि अर्को गरेर सहकारी संस्थाहरुले बचतकर्ताको सम्पत्ति हिनामिना गरिदिने र जोखिममा पारिदिने गरी भइरहेका घटनाहरुले सहकारीप्रति जनविश्वास घटाइदिएको छ । विश्वास बढ्नु पर्ने कुनै कारण पनि सहकारी संस्था र यसको नेतृत्व गर्नेहरुबाट आइरहेको छैन । सहकारी संस्था महासंघहरुले पनि यति गम्भीर विषयहरु सार्वजनिक हुँदा र हजारौं नागरिक ठगीमा पर्दा उनीहरुप्रति जिम्मेवार भएर भूमिका निर्वाह गर्न सकेको छैन । सहकारीहरुलाई उत्पादनमा लगाउनु भन्दा व्यापारमा केन्द्रीत गर्ने, गलत बाटोबाट लगानी गरेर दिन दुईगुणा रात चौगुणा कमाउने धन्दामा केन्द्रीत हुने र कसिलो नियमनको प्रबन्ध नहुँने वा नियमनकारी निकायको प्रवेशमा बाधा पु¥याएर लुटको स्वर्गमा रमाउने प्रवृत्तिप्रति सरकारी संयन्त्रले अंकुश नलगाउँदा अहिले हजारौं नागरिकहरु ठगिमा परेका छन् ।
अब पनि सहकारी संस्थाहरुको प्रवृत्तिमा सुधार नआउने र सरकारी निकायहरु यसरी नै निरीह रहिरहने हो भने सहकारीप्रतिको विश्वास रहने छैन । नागरिकले दिनदहाडै ठगीमा पर्नुपर्ने अवस्था अन्त्य गर्न नागरिकस्तरबाटै प्रतिवाद हुने अवस्था सिर्जना हुन नदिन सम्बन्धित संस्थाहरु स्वयं जिम्मेवार बन्नु पर्छ । साथै जिल्ला सहकारी संघ र महासंघहरुले पनि आफ्ना सदस्यहरुलाई यस प्रकारको व्यवहार नगर्नका लागि कठोर बन्न ढिलाइ गर्नु हुँदैन ।