विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् ।
विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।
विराटनगरको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।
सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको छ ।
विराटनगर महानगर क्षेत्र ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न हुने गरेको छ ।
धेरै स्थनमा सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।
विराटनगरको १५ नं. वडा कार्यालय अगाडिको घर भित्र पानी बसरे अहिले जलमग्न बनेको छ । सामान्य वर्षा हुँदा घरभित्र पानी पस्ने गरेको विराटनगर १५ की धनु श्रेष्ठले बताइ् । घर अगडि महानगरपालिकाले सडकको नाला सरसफाइमा ध्यान नदिदा सामान्य वर्षा पर्दा घरभित्र पानी पस्ने गरेको उनले बताइन् । यस्तै विराटनगर १६, १८ दक्षिणी क्षेत्रका मुख्य सडक क्षेत्र र भित्री सडकहरु पानीका कारण जलमग्न बनेका छन् ।


