विराटनगर । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा मोरङका ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ । उनी मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सदस्य हुन ।

संसदीय समितिहरुको सभापति चयन भोलि हुदैं छ । भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति पाउने भएको छ । लेखा समिति सभापतिमा सचिव योगेश भट्टराई र पूर्वमन्त्री गोकुल बास्कोटा पनि आकांक्षी थिए । तर अध्यक्ष ओलीले यसअघि अवसर नपाएका पोखरेललाई बनाउने बताएका छन् ।

महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापतिमा भने एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ । एमालेको भागमा परेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको टुंगो भने लागेको छैन ।