धार्मिक अराजकता सृजना कसैले पनि नगरौँ : सांसद पराजुली

विराटनगर । कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले धर्म निरपेक्ष रहेको मुलुकमा धार्मिक सहिष्णुता कायम गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । धरानमा गोरुको मासु खाएको दृश्यात्मक सामग्रीका विषयमा सद्भाव बिथोल्ने किसिमका हर्कतहरू भइरहेका बेलामा प्रदेश सभा सदस्य पराजुलीले धार्मिक अराजकता सृजना कसैले पनि गर्न नहुने बताएका हुन् ।

त्यति मात्रै नभई धरानमा भदौ ९ गते एउटा पक्षले धरानलाई चोख्याउने भन्दै स्ट्याटस पोस्ट गरिरहेको छ । धार्मिक अतिवाद र द्वन्द्व सृजना हुन नदिन सबै पक्ष संयमित हुन आवश्यक रहेको विराटनगरमा बिहीबार सञ्चार कर्मीहरूसँग पराजुलीले बताए । ‘हामीले धार्मिक द्वन्द्व, हिंसाहरू सुन्दै र देख्दै आइरहेका छौँ । त्यस्तै प्रकृतिको द्वन्द्व र हिंसाको बीजारोपण हुने सङ्केत देखिएको छ । त्यस कारण बहुल पक्ष संयमित बन्नुपर्ने अवस्था आएको छ । सामाजिक सञ्जालमा जसरी आरोप प्रत्यारोपका शृङ्खलाहरू बढेका छन् । यसले कसैलाई हित गर्दैन । हेर्दा धर्म, संस्कृतिसँग जोडिएको विषयजस्तो लागे पनि यो विल कुल राजनीतिक विषय हो । त्यस कारण यसलाई टुङ्ग्याउनका लागि पनि समाजका अगुवा, राजनीतिक दल, धरान उपमहानगरपालिकामा बढी संवेदनशील बन्नुपर्ने देखिएको छ,’ प्रदेशसभा सदस्य पराजुलीले बताए ।

धर्म संस्कृतिको नाममा कसैले पनि विकृति फैलाउन नहुने उनले बताए । ‘यहाँ फरक धर्म, फरक सम्प्रदाय, फरक संस्कार र संस्कृतिका मानिसहरूको साझा थलो हो । एकले अर्कालाई निषेध गरेर गएको आजसम्म थाहा छैन । तर, यति बेला जुन किसिमका अभिव्यक्ति र पोस्टहरू आइरहेका छन् । त्यसले अनिष्टको सङ्केत गरिरहेको छ । यो अनिष्टको बीजारोपण कसले र कुन पक्षले गर्‍यो भन्नेभन्दा पनि यस्तो परिस्थिति निर्माण हुन नदिन सबै लाग्नुपर्दछ ,’ उनले भने ।

बिहिबार, ०७ भदौ, २०८०, रातीको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर