काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।

६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग भएको उनको संवाद बाहिरिएपछि अधिकारीलाई अनुसन्धानको लागि मन्त्रालयमा तानिएको हो । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

उनीमाथि सार्वजनिक रूपमा प्रश्नहरू उठेका कारण सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ । गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो ।

अधिकारी गत फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए ।