विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले लिएको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गराएका थिए ।
प्रदेशसभाको अध्यक्षता गरेका काङ्ग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले संविधान मिचेर थापालाई विश्वासको मत दिएको भन्दै कार्की अदालत गएका हुन् । अध्यक्षता गर्नेले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको उनको दाबी छ ।
उपसभामुख र अध्यक्ष मण्डलका जेष्ठ सदस्यलाई एमालेले बिरामी र घरायसी कामको बहानामा बिदामा राखेपछि मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । त्यसबिरुद्धको रिटमा न्यायाधीश खतिवडाको इजलासले प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ । रिटको पेसी इजलासको १३ औं नम्बरमा छ ।