काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नभएको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको जिकिर गरेका हुन् ।
चिया बगानमा कुनै अनियमितता नभएको दावी गर्दै ओलीले भने, ‘कसरी अनियमितता ? बिनाकारण जग्गा दिएको होइन, सट्टापट्टाको कानुन बनाइदिएका छौँ । अरू केही होइन ।’ छानविन गर्न मन लागे गरे हुने उनले प्रतिक्रिया दिए ।
विनाकानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि आफू नेतृत्वको सरकारले कानून बनाएर काम गरेको ओलीको जिकिर थियो । झापाको विर्तामोडस्थित टि स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि भएको थियो । त्यसमा अरबौंको चलखेल भएको आरोप लाग्दै आएको छ ।
मेटमणि चौधरीले आफूलक्षित भनाइमा अध्यक्ष ओलीले स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको दावी गरे । चौधरीले सुन तस्करीमा ओली पनि संलग्न भएको दाबी गर्दै एक वर्षभित्र पक्राउ पर्ने ठोकुवा गरेका थिए ।
अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिए । सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएकोले एमालेले पनि सम्झौता गर्नुपरेको उनको तर्क छ ।