कोशी सरकारले पाएको विश्वासको मतविरुद्ध एमालेले भोलि रिट दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ ।

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

पार्टीसँगको सल्लाह र प्रदेश इञ्चार्जको निर्देशनपछि संसदीय दलले सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको कार्कीले बताएका छन् । एमाले निकट कानुन व्यवसायीहरुले काठमाडौंमा त्यसको तयारी गरेको जानकारी दिँदै उनले भोलि रिट हाल्न काठमाडौं जाने बताए ।

मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताए । प्रदेशसभाकी सभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।

मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए । मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसबिरुद्ध एमाले अदालत जान लागेको हो ।

मङ्गलबार, ०५ भदौ, २०८०, दिउँसोको ०३:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर