काठमाडौँ । झन्डै एक महिनापछि प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
साउन १० गतेयता नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको थियो । सोमवार रातिको सर्वदलीय बैठकले सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेका छन ।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति बनाउन सत्तारूढ दलहरू सहमत भएका छन् । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा बसेको सर्वदलीय बैठकमा छानबिन समिति गठन गर्न सत्तारूढ दलहरू तयार भएका हुन् ।