विराटनगर । कोशी प्रदेशसभा नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले उपसभामुख सिर्जना दनुवारले नाटक मञ्चन नगरेको बताएका छन् । मुख्यमन्त्री उद्धब थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
भण्डारीले उपसभामुखले संविधान र कानून अनुसार अध्यक्ष मण्डलका सदस्यलाई जिम्मेवारी दिएर उपचारका लागि अस्पताल गएको उनले बताए । सत्तारुढ दलले उपसभामुखले नाटक मञ्चन गरेको भन्दै गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘सभामुखलाई खुलेआम हस्ताक्षर गर्न लगाएर सरकार बनाउनेहरुले गरेको चाहिं नाटक मञ्चन थियो कि आज हो ? ।’ एमालेले एकैछिनमा बिरामी बनाउने र एकैछिनमा निको बनाउने काम नगर्ने पनि उनले बताए ।
सर्वोच्च अदालतले सभामुखको समर्थनमा बनेको सरकारलाई बर्खास्त गरेको उदाहरण दिँदै उनले अदालतले बर्खास्त गरेको सरकारले मुख्यमन्त्री कार्यालयमा ताला लगाएर ६ दिनसम्म सरकारबिहीनताको अवस्था सिर्जना गरेको पनि बताए । उनले ४७ जना सांसदको समर्थन देखाए ताली पड्काएर मुख्यमन्त्रीलाई बधाई दिने बताए ।
सांसदहरुले विदामा बस्नै नपाउने भन्दै उनले भने, ‘हिंजो विदाको सूचना नदिइ विदामा बस्दा कानूनको पालना भएको थिएन । अहिले सूचना दिएर कानून अनुसार विदामा बसेका हुन् । अलिअलि काम छ, रुघा, खोकी डेंगु भन्नुभयो, सूचना दिनुहोस् र विदामा बस्नु भन्यौं बस्नुभयो ।’
उनले संविधान र कानूनको हुर्मत धेरैचोटी गठबन्धनले लिएको भन्दै अब पनि हुर्मत लिए प्रादेशिक संरचनामाथिको विरोधलाई उत्कर्षमा पुर्याएको जिम्मेवारी लिनुपर्ने चेतावनी दिए । उनले आफ्नो स्वार्थको लागि संविधान र कानूनको व्याख्या नगर्न चेतावनी दिए ।