अन्ततः उपसभामुख भइन् ‘विरामी’ : प्रदेशसभा बैठक अनिश्चित

विराटनगर । अन्ततः पूर्वनिर्धारित योजना अनुसार नेकपा एमालेको निर्देशनमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार आजको लागि आफैंले बोलाएको प्रदेशसभा बैठक छलेर काठमाडौं हिँडेकी छन् ।

मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत लिन भददौ ४ गतेको मिति तोकेकी उपसभामुख दनुवार बैठककै दिन ‘विरामी’ भएको बहानामा काठमाडौं हिँडेकी हुन् ।

यसअघि नै उपसभामुख दनुवार कुनै न कुनै बहाना बनाएर बैठकमा अनुपस्थित भई विश्वासको मत लिने प्रक्रियामा अबरोध गर्ने चर्चा चलेको थियो । तर, उनले आफूले मर्यादित भूमिका निर्वाह गरेर सभा सञ्चालन गर्ने दावी गर्दै आएकी थिइन् । यसअघि सभामुख बाबुराम गौतमले पदीय मर्यादा विपरित सरकार निर्माणमा संलग्नता देखाएको भन्दै आलोचना भएकोमा उपसभामुख दनुवारले आफू त्यो बाटोमा नजाने जिकिर गरेकी थिइन् ।

सर्वोच्च अदालतले सभामुख गौतमको कदमलाई असंवैधानिक ठहर गर्दै उद्धब थापाको मुख्यमन्त्रीको नियुक्त मात्र बदर गरेन, सभाको अध्यक्षता गर्ने व्यक्तिको पदीय मर्यादा र गरिमासमेत सम्झाएको थियो । सभामुख गौतमले त्यसपछि राजीनामा दिएकोमा सभाको अध्यक्षताको जिम्मेवारी पाएकी उपसभामुख दनुवार पनि दलीय निर्देशनको शिकार भएकी हुन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा ठिक्क बहुमत ४७ सांसदको समर्थनसहित मुख्यमन्त्री भएका थापालाई विश्वासको मत लिनबाट रोक्न उपसभामुख दनुवार विरामीको बहानामा काठमाडौं बाहिर हिँडेकी हुन् । त्यो संकेत एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले आइतबार नै दिएका थिए । आइतबार उदयपुरकै विभिन्न कार्यक्रममा सहभागी भएकी दनुवार आफू बैठक सञ्चालन गर्ने पक्षमा रहेको बताएकी थिइन् ।

प्रदेशसभा बैठकअघि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । बैठक उपसभामुख दनुवारले नै राखेकी थिइन् । तर, ७ बजे यति एयरलाइन्सको विमानबाट काठमाडौं गएकी हुन् । उनी काठमाडौं पुगिसकेपछि प्रदेशसभामा उनको सचिवालयले विरामी भएकोले बैठकमा उपस्थित हुन नसकेको पत्र दर्ता भएको छ ।

दनुवारले पत्रमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्ष मण्डलबाट बैठक सञ्चालन गर्ने व्यवस्था रहेकोले इश्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्न भनेकी छन् । आइतबार आफैंले अध्यक्ष मण्डलमा रहेका जेष्ठ सदस्य एमालेकी मालतीकुमारी लिम्बू र राप्रपासका अम्बरबहादुर विष्टको विदा पत्रमा स्वीकृति दिएकी उनले उनीहरु विदामा रहेकोले त्यसपछिका जेष्ठ सदस्य मन्सुरीले बैठक चलाउन जिम्मा दिएको दनुवारको पत्रमा उल्लेख छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार उपसभामुख दनुवारले ८ बजे परामर्श समितिको बैठक राखेकोमा ९ बजे अनुपस्थित हुने पत्र आएको हो । उपसभामुखको पत्रपछि के गर्ने भन्ने विषयमा दलहरुबीच छलफल हुने उनले
बताए । संभवतः आजको बैठक स्थगित हुने संभावना रहेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेत भुपेन्द्र राईले प्रदेश संरचनालाई बद्नाम बनाउनेगरि एमालेले घुणित खेल खेलेको आरोप लगाए ।

प्रदेशसभा सञ्चालन नियमावली अनुसार सभामुख र उपसभामुख अनुपस्थित भएमा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नेछ । प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुखले यसअघि नै बैठक सञ्चालनको लागि ४ जनाको अध्यक्ष मण्डल तोकेका थिए ।

प्रदेशसभा सञ्चालनका लागि सभामुखउपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा रहेकी एमालेकी मालती सुब्बाले आइतबार नै आजको बैठकमा अनुपस्थित हुने सूचना दिइसकेकी छन् । उनीसहित एमालेका ८ जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने जानकारी दिएका थिए । ‘घरायसी जरुरी काम’ भएका कारण उपस्थित हुन नसक्ने उनीहरुले उल्लेख गरेका छन् ।

सुब्बा अनुपस्थित हुँदा अध्यक्ष मण्डलमा रहेका राप्रपा अम्बरबहादुर विष्टले सभाको अध्यक्षता गर्नुपर्ने हो । तर, राप्रपाले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रले नै भोलिको बैठकमा अनुपस्थित हुनु भनेको विष्टले बताए ।

उपसभामुखले राजीनामा नदिएको अवस्थामा अध्यक्ष मण्डलमा रहेकी मालतीकुमारी लिम्बूलाई अनुपस्थित गराएमा पुग्ने थियो । तर, एमालेले सबै जेष्ठ सदस्यलाई अनुपस्थित गराउने निर्णय लिनुको पछाडि ‘फ्लोर क्रस’ को त्रासले काम गरेको छ । प्रदेशसभालाई विघटनमा जानबाट रोक्न थापालाई विश्वसको मत लिने वातावरण बनाइदिनुपर्छ भन्ने पनि बहस एमालेमा भएको बेला केहि सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने सूचना एमाले नेतृत्वमा पुगेको थियो । त्यहि अनुसार जेष्ठ सबैलाई अनुपस्थित हुन भनिएको एक एमाले नेताले बताए ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७) र ज्ञानेन्द्र सुवेदी (६४) छन् । प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन् । एमाले सांसद किशोरचन्द्र दुलाल (६५) भने विदा लिएर यसअघि नै अमेरिका गएका छन् ।

सोमबार, ०४ भदौ, २०८०, बिहानको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर