कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् ।

प्रतिपक्षी दल एमाले र राप्रपाले भने थापालाई विश्वासको मत प्राप्त हुन नदिन उपसभामुख दनुवारलाई अनुपस्थित गराउने सत्तापक्षलाई आशङ्का छ ।
यसअघि नै एमालेले आफ्ना ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको छ । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेको हो । सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत ९४७० संख्या पुर्‍याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ । एमालेले आजै उपसभामुखलाई राजीनामा गराउने वा बिरामीको बहानामा अनुपस्थित गराउन सक्ने बताइएको छ ।

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य काँग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ

सोमबार, ०४ भदौ, २०८०, बिहानको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर