संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदी हत्या प्रकरणमा प्रहरी सहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी सहित १२ जना अनुसन्धानमा तानिएका हुन् ।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रहरी सहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
घटनामा संलग्न देखिएका प्रहरी र कैदी सहित १२ जना माथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए । कैदी मृत्यु प्रकरण प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको प्रहरी उपरीक्षक गोदारले जानकारी दिए । प्रहरीले साउन २८ गते आइतबार कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । असई चौधरीलाई शुक्रबार पुन : ५ दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनामा संम्लग्नलाई छानविन टोलीको प्रतिवेदनका आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायव उपरीक्षक गोदारले बताए । घटनापछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाएको थियो । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत संखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।
प्रहरीले घटना लगत्तै कारागार सुरक्षमा खटिएको १० प्रहरी र चौकीदार सहित ९ कैदीलाई नियन्त्रणमा लिएको थियो । कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन । कुटपिटबाट संखुवासभा मादी नगरपालिका – ५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
घटनापछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वको पाँच सदस्यीय टोली अनुसन्धानका लागि संखुवासभाका आएको थियो । अनुसन्धानपछि केन्द्रीय छानविन समितीले कारागार घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाइसकेको छ । कुल २५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ जना कैदीबन्दी राखिएको छ ।

