विराटनगर । मनग्य आम्दानीको आकर्षणले रुसको निजी लडाकु समूह (वाग्नर समूह)मा भर्ना हुन मोरङबाट सयौं युवा रसिया पुगेका छन् । रुस र युक्रेनबीचको लडाइँमा रुसको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको वाग्नर सेनामा मोरङको बेलबारीबाट मात्र ६० जनाभन्दा बढी युवाहरु भर्ती भइसकेका छन् ।
वाग्नर समूह भाडामा लड्ने हतियारधारी सेना हो । निजी क्षेत्रबाट सञ्चालित उक्त समूहले लडाकुहरुलाई आकर्षक तलब दिने गरेको छ । मोरङको बेलबारीबाट पछिल्लो ६ महिनाको अवधिमा ६० जनाभन्दा बढी युवाहरु रसिया पुगेर उक्त समूहमा भर्ना भइसकेको त्यहाँ पुगेका बेलबारीका युवा शिशिर विश्वकर्माले बताएका छन् ।
नेपालबाट वाग्नर समूहमा भर्ती हुनका लागि सरकारले अनुमति दिएको छैन । तर नेपाली युवाहरु दुवई पुगेर वाग्नर समूहमा भर्ती हुन रसिया जाने गरेका छन् । भिजिट भिषामा दुवई जाने र त्यहाँबाट वाग्नर सेनाको सम्पर्कमा पुगेर रसिया जाने लहर नै चलेको त्यहाँ पुगेका नेपाली युवाहरुले बताएका छन् ।
वाग्नर सेनामा भर्ती भएका बेलबारीका युवाहरुले औषतमा मासिक २ लाख ५० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । वाग्नर समूहले केही महिना हतियार चलाउने तालिम दिएपछि नियमित लडाकु दस्तामा समावेश गर्ने गरेको उनीहरुले बताएका छन् ।
वाग्नर समूहमा भर्ती हुनका लागि त्यहाँ कार्यरत नेपाली युवाहरुले नै सम्पर्क सूत्रको रुपमा काम गरेर नेपाली युवाहरुलाई लैजाने गरेका छन् । बेलबारीबाट वाग्नर समूहमा भर्ती हुन युवाहरुले २० देखि २५ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । विभिन्न म्यानपावर कम्पनीहरुले युवाहरुलाई दुवई पु¥याएर रुस तर्फ पठाउने बन्दोबस्त मिलाइदिने गरेका छन् । युवाहरुले खर्च गर्ने ठूलो रकम एजेन्टहरुको कमिशनमै खर्च हुने गरेको बताइएको छ । एजेन्टको रुपमा काम गर्ने वाग्नर सेनामा कार्यरत युवाले एक जना बराबर कम्तिमा एक लाख रुपैयाँ कमिशन लिने गरेका छन् ।
वाग्नर समूहमा भर्ती भएर नियमित सेनाको रुपमा काम गरिरहेका शिशिर विश्वकर्माले ज्यनका बाजी राखेर भर्ती हुन आएको बताएका छन् । उनले सामाजिक सञ्जाल टिकटकबाट नियमित रुपमा सैन्य गतिविधि र नेपाली युवाहरुको सहभागिताको बारेमा जानकारी गराउने गरेका छन् ।
उनले देशमा रोजगारीको अवस्था नहुँदा देशमा केही गर्न नसकेरै घर परिवार पाल्नका लागि जोखिम लिएर लडाइँमा भाग लिन रसिया आएको बताएका छन् ।नेपाली युवाहरु रुसको निजी लडाकु समूहमा भर्ना हुने क्रम बढेको विषयमा नेपाल सरकारका निकायहरु भने बेखवर रहेका छन् । नेपाली युवाहरु उक्त समूहमा आवद्ध भएको खबरहरु आएपनि औपचारिक च्यानलबाट नगएको हुँदा त्यसको यकिन तथ्यांक अभाव छ ।
मोरङबाट ठूलो संख्यामा वाग्नर समूहमा युवाहरु भर्ती भइरहेको बारेमा प्रशासनलाई जानकारी नभएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । उनले भने ‘मोरङबाट त्यो समूहमा युवाहरु गएको विषयमा मलाई जानकारी छैन, भिसा दिने नियकायलाई जानकारी हुनसक्छ तर हामीलाई यस विषयमा कुनै जानकारी आएको छैन ।’
नेपाल सरकारले वाग्नर समूहमा युवाहरुलाई पठाउने नीति नलिएको अवस्थामा अवैध ढंगले युवाहरु व्यक्तिगत सम्पर्कबाट त्यहाँ पुग्ने गरेका कारणले पनि त्यसको यकिन तथ्यांक सरकारले संकलन गर्न सकेको छैन । यस विषयमा स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयहरु नै अनविज्ञ छन् ।

