धनकुटा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका सबै काण्डहरुको फाइल खोल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्षम रहेको बताएका छन् ।
नेकपा एमालेले सुनकाण्डको छानविन गर्न उच्चस्तरीय समितिको माग गर्र्दै संसद अबरुद्ध गरिरहेको बेला महामन्त्री शर्माले उच्चस्तरीय समिति जरुरी नभएको बताए ।
कांग्रेस नीति तथा प्रशिक्षण शाखा धनकुटाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले अख्तियारसम्बन्धी ऐन कानुन बनाउन नेतृत्व गर्ने कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन नहुने उनले जोड दिए । भ्रष्टाचार निर्मूल गर्ने कानुन बनाउने अनि भ्रष्टाचार गर्नेलाई नपक्रिने भन्ने नहुने भन्दै उनले भने ‘जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ ।’
‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्रीलगायतलाई छानबिनको दायरामा ल्याउने सीआईबी हो,’ उनले भने, ‘कांग्रेसको कार्यकर्ता तहमा भ्रष्टाचार निर्मूल अभियानमा पार्टी लागेको छ भन्ने सन्देश जान जरुरी छ ।’ जनताका आवाज संसद्बाटै बोलिने भएकोले संसद् अवरुद्ध गर्नु गलत भएको उनले बताए ।

