विराटनगर । नेकपा एमालेका नेता सुबोधराज प्याकुरेलले पार्टीका सबै कार्यक्रमा अध्यक्षको फोटो राख्न गरिएको उर्दीप्रति कडा टिप्पणी गरेका छन् ।
मानवअधिकारवादी अभियन्ता रहेका प्याकुरेले एमालेका कार्यक्रमहरूमा अध्यक्षबाहेकको तस्वीर राख्न नपाइने सर्कुलरप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै उनले यो निर्णयको तीव्र आलोचना गरेका छन् ।
प्याकुरेलले विगतमा ओलीले महाराजहरुको स्वस्तिवाचन प्रथालाई गरेको व्यङ्ग्य र जात अनुसार पहिरन गर्नुपर्ने टोपीको शैलीको विरोध स्मरण गराएका छन् । पार्टीका कार्यक्रममा सम्माननीय पूर्वप्रधानमन्त्री, श्रद्धेय अध्यक्ष, राजनेता, बा अन्य फुँदा र दर्जा जोडिँदा कमरेडीपन हराएको भन्दै उनले त्यसमा कसरी दंग पर्न सकेको भन्ने प्रश्न गरेका छन् ।
अचेल सहभागिताको प्रमाणपत्रदेखि पार्टी कार्यालयले ढोका कोठा सर्वत्र तपाईंको चित्र नराखी नहुने गरि उधुम मच्चाइएको छ भन्दै उनले वैचारिक काम कमजोर भएपछि व्यक्ति, व्यक्तिको वैयक्तिक श्रृङ्गार सुरु हुने उल्लेख गरेका छन् । अति भक्ति चौरस्य लक्षणम भन्दै प्याकुरेलले ओलीको तेजोवध गर्ने हरिया झिङाहरु धेरै भएको टिप्पणी गरेका छन् ।
किसानले गर्ने सार्वजनिक कार्यक्रममा क० तुलसीलाल, महिलाले गर्ने कार्यक्रममा क० साहना प्रधान र स्थानीय कार्यक्रममा सान्दर्भिक शहीदको चित्र आउट गर्ने प्रयास विवेकपूर्ण नहुने प्याकुरेलको भनाइ छ । चुनावमा गरिने सार्वजनिक कार्यक्रममा ओलीको चित्र नभए पनि हुने भन्दै उनले उम्मेदवारको चित्र अनिवार्य हुने स्मरण गराएका छन् ।
हरेक कार्यक्रममा राष्ट्रगान र मौनधारण अनिवार्य नहुने भन्दै उनले सिनेमाहलमा राष्ट्रगान, रोदीघरमा राष्ट्रगान घन्काउन लगाउने पञ्चायतकालीन भाटगिरी एमालेमा सुरु भएकोप्रति आपत्ती जनाएका छन् । ‘कृपया आलोचना र विरोधबीचको फरक, नेता र नेतृत्वबीचको फरक अनि पार्टी र पदाधिकारीबीचको फरकका बारेमा तपाईंका निकट, अति निकट, विशिष्ट निकटका महानुभावहरुलाई दीक्षित गरिदिनुस’ उनले लेखेका छन्,‘ एमाले एमालेका दर्जावालहरुको मात्र होइन, सिङ्गो नेपाल नेपाली र कतिपय सन्दर्भमा विश्वका न्याय समानता र समन्यायका पक्षपातीहरुको पनि पार्टी हो ।’
मानवअधिकार अभियानमा पनि सक्रिय प्याकुरेल एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारी निकट नेता मानन्छिन् । उनी यसअघि शेरधन राई मुख्यमन्त्री रहेको बेला प्रदेश १ योजना आयोगको उपाध्यक्ष नियु्क्त भएका थिए ।
https://www.facebook.com/subodh.pyakurel/posts/10230280771060457?ref=embed_post