विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिकाले शिक्षकलाई गैर कानुनी रूपमा प्रयोग गरेको पाइएको छ । ६ वर्ष देखि शिक्षकलाई काजमा नगरपालिकामा ल्याएर सामाजिक शाखाको जिम्मेवारी दिइएको छ ।
वसन्त उच्च मावि वसन्तपुरका निम्न माध्यमिक तहका अंग्रेजी विषयका शिक्षक रामकृष्ण निरौलालाई मेयर अर्जुन माबुहाङले काजमा नगरपालिकामा सरुवा गरेर सामाजिक विकास शाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।
२०७४ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माबुहाङले नै चुनाव जितेका थिए । दुई पटक नै मेयर भएका उनले पहिलोपटक चुनाव जित्ने बित्तिकै निरौलालाई विद्यालयबाट नगरपालिकामा काज सरुवा गरेर ल्याएका थिए । चुनावमा खटेबापत निरौलालाई मेयरले प्रोत्साहन गरेका हुन् ।
निरौलालाई नगरपालिकामा ल्याए पनि उनको ठाउँमा अर्काे शिक्षक राखिएको छैन । शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । ‘६ वर्षदेखि अंग्रेजी पढाउने शिक्षक भए पनि अन्यत्र काजमा हुनुहुन्छ,’ विद्यालय प्रशासनका एक कर्मचारीले भने ‘पठनपाठनमा समस्या भएको छ । मेयरलाई पनि राम्रो जानकारी छ । तर, उहाँ काज फिर्ता गर्न चाहनुहुन्न ।’
मेयर माबुहाङ काँग्रेसका महासमिति सदस्य पनि हुन् । निरौला पनि काँग्रेस निकट शिक्षक हुन् । निरौलालाई सामाजिक विकास शाखाको जिम्मेवारी दिए पनि मेयरको सचिवालयको काम गर्ने गरेका छन । अनुदानमा वितरण गर्ने सामग्रीहरुसमेत उनै निरौलाले खरिद गर्ने गरेका छन । कार्यक्षेत्र भन्दा बाहिर गएर पेश्की लिएर उनले सामागी्र किन्ने गरेको उनीमाथि आरोप छ ।
उनी राहत कोटाका शिक्षक हुन् । उनले तलब दुईतिरबाट लिने गरेका छन् । वसन्त उच्च माध्यमिक विद्यालय र नगरपालिकाबाट लिने गरेका छन् । ‘उहाँको तलब विद्यालयको खातामा नगरपालिकाले पठाइदिन्छ,’ वसन्त उच्च माध्यमिक विद्यालयका प्रअ नरेन्द्र काफ्लेले भने ‘अनि हामी उहाँको खातामा पठाइदिन्छौ ।’ यता नगरपालिकाले पनि महालेखाबाट बच्नका लागी इन्सेन्टिभ भनेर दिने गरेको छ ।
नगरपालिकाले इन्सेन्टिभ भनेर ५ हजार दिने गरेको छ । महालेखाले बेरुजु नलेखोस् भनेर ५ हजार इन्सेन्टिभ दिने गरेको लेखा शाखाका एक कर्मचारीले बताए । विद्यालयमा विद्यार्थीको संख्या कम भएपछि निरौलालाई काजसरुवा गरेर ल्याएका मेयर माबुहाङको भनाइ छ ।‘पहिलो कार्यकालमा हामी निर्वाचित भएर आएलगत्तै धेरै विद्यालयहरूले कक्षा थपको अनुमति मागे,’ मेयरले भने ‘नयाँ भएकाले अनुमति दिइहाल्यौं । नयाँ कक्षा थपपछि राम्रो चलिरहेका विद्यालयहरूमा विद्यार्थीको सख्या कम भयो । हामीलाई पनि कर्मचारी अभाव भएकाले काजमा ल्याएका हौँ । ’
अब निरौलालाई विद्यालयमै पठाउने बताए । ‘अनुमति थप गरेका विद्यालयहरूमा शिक्षकको तलबदेखि संरचनाको निर्माणका काम समेत गर्नु परेकाले अहिले धान्न नसक्ने अवस्थामा पुगेका छांै । अब थप गरिएका कक्षाको अनुमति घटाएर निरौलालाई पुरानै काममा खटाउँछौ’ उनले भने ।
निरौलालाई मेयर माबुहाङले शिक्षा शाखा हेर्नेगरी ल्याएको भए पनि शिक्षा शाखामा दरबन्दी अनुसारका कर्मचारी आएपछि सामाजिक विकास शाखाको जिम्मेवारी दिएका थिए । उनी शिक्षा शाखामै बसेर कामकाज गर्ने गरेका छन् । सामाजिक तथा सहकारी लगायतका शाखाको काम निरौलाले नै गर्ने गरेको नगरपालिकाले जनाएको छ । यो पालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । डेढ वर्षयता नगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । कर्मचारीहरूको सोच स्थानीय तहलाई लथालिङ्ग पार्ने खालको भएकाले पनि कर्मचारी नटिक्ने गरेको मेयरको भनाइ रहेको छ ।
पहिलो कार्यकालमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए । पहिलो कार्यकालको अन्तिमदेखि सबिना श्रेष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेकी थिइन् । गत असारमा राजीव खनाल प्रमुख प्रशासकीय अधिकृत बनेर आएका थिए । एक महिनामै उनको सरुवा भएको थियो । अहिले श्रेष्ठ नै निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।