काठमाडौँ । उच्च अदालतले, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डे सहित १० जनाको पुनरावलोकन प्रतिवेदन बालकृष्ण र टोपबहादुरको निवेदनसँगै पेस गर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश द्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले पाण्डे सहित थुनामा रहेका १० जनाको सुनुवाइपछि बाँकी प्रतिवादीहरूले पनि जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकै पटक पेस गर्न आदेश दिएको हो ।

बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दश जनाको अर्को पेशी एकै पटक पेस गर्न आदेश दिएको हो । उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्व मन्त्री टोपबहादुर रायमाझीले समेत मुद्दा पुनरावलोकनको लागि निवेदन दिएका थिए ।

निलम्बित सचिव पाण्डे तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका पूर्व सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि बिहीवार सुनुवाइ भएको थियो ।

काठमाडौं जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने भनी दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए । लक्ष्मी महर्जन भने धरौटी तारेखमा छिन् ।

पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको निवेदनमा भने अन्तिम सुनुवाइ शुरू भएको छैन ।