विराटनगर । विराटनगरको व्यस्त बजारमा दिन हाडै विराटनगर–८ का २२ वर्षीय महमद हलिमलाइ तरबार प्रहार गरेर आरोपीहरू जोगवनी हुँदै भारततिर फरार भए ।
सोमबार दिउँसो विराटनगरको सनसारीमाइस्थानमा रातो पल्सर मोटरसाइकलमा आएका तीन जनाले हलिमलाई तरबार प्रहार गरेका थिए । तरबार प्रहार गरेपछि आरोपीहरू विराटनगरको जोगवनी हुँदै भारत पुगेको प्रहरीले पत्तो पायो ।
त्यसपछि मोरङ प्रहरीले वरिष्ठ सइ राजेन्द्र कटुवालको टोली भारत पठायो । उक्त टोलीमा कोशी प्रदेश प्रहरी कार्यालय रिटका प्रहरी पनि थिए । तरबार प्रहार गरेको दुई दिनपछि भारत पुगेर प्रहरीले बुधवार बिहान २ बजे घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का २४ वर्षीय अशोक अन्सारी रहेको मोरङ प्रहरीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
पक्राउ परेका मध्ये समीर घटनका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा तीन जना चढेर महमद हलिमलाई तरबार प्रहार गरेका थिए । समीरले बोकेको तरबारले हलिमलाई प्रहार गरेका थिए । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठ जनाको संलग्नता देखिएको छ । फरार रहेका ६ जनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ ।
घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरू भागेका थिए । घटनामा संलग्न अन्य विराटनगरका २२ वर्षीय अमन कुरेसि, विराटनगर ११ जनपथ टोलका २६ वर्षीय कुशल पाण्डे , विराटनगर सौरचियाका सदाब अन्सारीको समूह फरार छन् ।
पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ । ‘केही दिन अगाडी हलिमको साथीमाथि समिरका केटाहरूले आक्रमण गरेका थिए । त्यसपछि हलिमले समिरका केटाहरूलाई कुटपिट गरेका थिए । त्यही कुटपिट गरेको रिस फेर्न हलिमलाई आक्रमण गर्ने योजना समीरले बनाएका थिए,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘त्यही रिस फेर्न तरबार प्रहार गरेर आक्रमण गरेको देखिन्छ । यस घटनामा संलग्न अन्य पक्राउ परेपछि थप विषय खुल्नेछ ।’
पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधवार मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

