विराटनगर । विराटनगर – १० का २३ वर्षीय सिद्धान्त भट्टराईको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको मृतक परिवारले गुनासो गरेका छन् ।

सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको मृतक परिवारको गुनासो छ ।साउन २३ गते सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि सिद्धान्तको शव भेटिएको थियो । घटनको प्रकृति हेर्दा छोरा सिद्धान्तको दुर्घटना नभएर हत्या भएको बाबु सुरेशले बताए । ‘छोराको अपहरण गर्न खोजिएको थियो । त्यो पुरा हुन नसकेपछि हत्या भएको छ,’ बाबु सुरेशले भने, ‘छोराको हत्या भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको पाइएको छ । यतिका दिन भइसक्यो अहिलेसम्म पोस्टमार्टम रिपोटबारेमा पनि परिवारलाई जानकारी गराएको छैन ।’

प्रहरीले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनले माग राखेका छन् ।घटना भएको यतिका दिनसम्म पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बारे जानकारी नदिएको भन्दै उनले गुनासो गरे । उनले मोरङमा बसोबास भएको व्यक्ति सिराहाको होटेलमा मृत फेला पर्दा प्रहरी पीडित परिवारमैत्री नभएको उनले बताए ।

भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका थिए । उनको घाँटीको सिक्री र पाइन्टको गोजीमा मोबाइल तथा पर्स भए पनि हातको घडी र चस्मा अझैसम्म फेला परेको खबर आएको छैन । को।१ च ९१७२ नम्बरको पिक अप जिपमा मार्केटिङका लागि गएका थिए । गाडीका चालक सागर रायसँग सहदेव होटेलमा खाजा र खान खाएपछि उनी बाहिर निस्केका थिए । राति १ बजेतिर होटेलका सञ्चालकले उनको मृत्यु भएको भन्ने खबर प्रहरीलाई गराएका थिए ।

गत मङ्गलवार पाथीभरा कापी उद्योगको व्यापारिक काम लिएर मिर्चैया पुगेका भट्टराई सहदेव होटेलमा बसेका थिए । साँझ खाना खाएर बाहिर निस्केका उनी आफू बस्ने होटेल नजिकैको अर्को होटेलमा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले पीडित परिवारले अहिले नै अनुसन्धान नभएको भन्न नमिल्ने बताए । उनले पीडामा परेकाहरूलाई तत्काल न्याय चाहिने भए पनि अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेको बताए । ‘होटेलका सञ्चालक बाबु–छोरालाई पक्राउ गरिएको भए पनि बाबु शम्भुलाई छोडिएको थियो,’ उनले भने, ‘शम्भु साह भागेका छन्, छोरा हाम्रो नियन्त्रणमै छन्, अनुसन्धानको काम विभिन्न कोणबाट भइरहेको छ ।

प्रहरीले घटना भएको होटेलबाट लागु औषध कारोबार हुने सूचना पाएपछि छापा हानेको थियो । त्यस क्रममा लागु औषध समेत बरामद गरेको बस्नेतले जानकारी दिइएको छ । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरेर निष्कर्षमा पुर्‍याउने दाबी छ ।