एमालेले संसदलाई बन्धक बनाउनु गलत : उपाध्याय

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएकी छिन् ।

मोरङको उर्लाबारीमा आज नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताइन् । भ्रष्टाचार र सुन तस्करी प्रकरणमा दोषी देखिएका सबैलाई कार्वाही हुनु पर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउँदै उनले सहमति र सहकार्य गरेर अघि बढ्नु पर्ने अवस्थामा संसद अबरुद्ध गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गरिन् । संसद अबरुद्ध गरेर कुनै निकास नहुने बताउँदै उनले संवादबाट समस्या सुल्झाउन एमालेलाई आग्रहसमेत गरिन् ।

सुन तस्करी होस् वा कुनै पनि भ्रष्टाचारको विषयमा दोषी देखिएकालाई तथ्यका आधारमा कार्वाही गर्नु पर्छ भन्ने कुरामा कांग्रेस अडिग रहेको उनले बताइन् । कसैले प्रतिशोध साध्ने हिसाबले काम गर्नु हुँदैन भन्ने कुरामा कांग्रेस सचेत रहेको र तथ्य, प्रमाणका आधारमा छानविन र कार्वाही हुनुपर्नेमा उनले जोड दिइन् ।

उनले आन्तरिक विशेष अभियानको क्रममा मोरङ कार्यकर्ताहरुले आगामी निर्वाचनमा एक्लै लड्नु पर्ने सुझाव राखेको जानकारी दिइन । अभियानको क्रममा पार्टीभित्र समन्वय नभएको, पार्टीभित्र आन्तरिक किचलोलगायतका विषयमा नेता तथा कार्यकर्ताहरुले आफ्नो धारणा राखेको उनले बताइन् । अभियानले पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाएर त्यसको सुधार गर्ने र पार्टीलाई गतिशील बनाउने उनको भनाइ छ । समय र परिस्थिति अनुसार पार्टी अघि बढ्नु पर्ने उनले बताइन् । नयाँ पार्टीहरुमा प्रवेश गरेका कार्यकर्ताहरु फर्किने क्रम पछिल्लो समयमा बढेको पनि उनले बताइन् । ‘सामाजिक सञ्जालमा आउने धारणालाई नै आम धारणाको रुपमा लिने काम भइरहेको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण कुराहरु चिर्न जरुरी रहेको छ, मर्मादित, सत्य र तथ्य कुरामात्रै समाज ल्याउनु पर्छ ।’

बुधबार, ३१ साउन, २०८०, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर