विराटनगर । भारतले नेपालबाट गोलभेंडा आयात खुला गरेकै बेला पनि विराटनगर नाकाबाट भने निर्यात भएको छैन । अवैध मार्गबाट निर्वाध गइरहेको गोलभेंडा आधिकारिक रुपमा गएको अभिलेख भन्सारमा छैन ।
बर्खा–हिउँद दुवै याममा विराटनगरलाई गोलभेंडाको मुख्य हब मानिन्छ । कात्तिकदेखि वैशाखसम्म मोरङ र सुनसरीमा उत्पादित गोलभेंडा फालाफाल हुन्छ । त्यस्तै जेठदेखि असोजसम्म धनकुटा र तेह्रथुममा उत्पादित गोलभेंडाको मुख्य कारोबारस्थल विराटनगर नै हो । मुख्य हब भएर पनि विराटनगरबाट आधिकारिक निर्यात भएको छैन ।
यसको यथार्थ भने अर्कै छ । विराटनगर भन्सार नाका भएर निर्यात नभए पनि चोर नाकाबाट अनधिकृतरुपमा निकासी भइरहेको छ । ‘बर्खा याममा मोरङ–सुनसरीका ग्रामीण सीमाबाट गोलभेंडा अनधिकृत निकासी धेरै वर्षदेखि भइरहेको छ, भारतका व्यवसायी र ग्राहकले नेपालका पहाडमा फलेका गोलभेंडा धेरै मन पराएर खरिद गर्ने गर्छन्’, एक व्यवसायीर्ले भने, ‘अवैध निकासी गर्न पल्किएकाहरूले भारतले आयात खुला गरे पनि वैधानिक बाटो समाउन मानेका छैनन् । धनकुटा र तेह्रथुममा उत्पादित टमाटर मोरङ र सुनसरीका भित्री र ग्रामीण नाकाबाट अनधिकृतरूपमा भारत गइरहेको छ ।’
काँकडभिट्टा र विराटनगर नाका भएर साउन २० अघि पनि भारततर्फ गोलभेंडा निकासी हुने गर्दथ्यो जबकि भारत सरकारले साउन २० अघि गोलभेंडा आयातलाई खुला गरेको थिएन । तर व्यवसायीले आयातको अर्कै जाली तरिका अपनाएर निर्यातलाई निरन्तरता दिँदै आएका थिए । यो उपाय थियो– बन्दाकोबीको उत्पत्तिको प्रमाणपत्र र प्रज्ञापनपत्र बनाउने अनि निर्यात गर्ने मालवस्तु चाहिँ गोलभेंडा । एक कारोबारीका अनुसार व्यवसायीले १५–२० वर्षदेखि नै बन्दाकोबीका नाममा बन्दाकोबीसँगसँगै गोलभेंडा पनि पठाइरहेका थिए । यसका लागि उनीहरूले नेपाल र भारत दुवैतर्फका भन्सार अधिकारीसित सेटिङ गर्थे ।
सामान्यतया असार १५ पछि तराईमा गोलभेंडाको मूल्य वृद्धि हुन थाल्थ्यो । विराटनगरको बजारमा साउनको अन्तिममा गत वर्ष गोलभेंडाको खुद्रा विक्री मूल्य प्रतिकिलो ७० देखि १०० रुपैयाँसम्म थियो । यसपटक भने लगभग दोब्बर भएको छ । विराटनगरको बजारमा अहिले गोलभेंडाको खुद्रा विक्री मूल्य प्रतिकिलो १५० देखि १८० रुपैयाँसम्म छ । छेउकै भारतीय बजार जोगबनीमा भने यसको मूल्य किलोको २८० रुपैयाँ छ । जोगबनीभन्दा दक्षिणका फारबिसगन्ज, पूर्णिया र कटिहार लगायत भारतीय बजारमा मूल्य भारु २ सयभन्दा माथि भएको एक व्यवसायीले बताए ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गत बिहीबार संसदमा नेपालबाट गोलभेंडा आयात गर्न लागिएको बताएकी थिइन् । ‘नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्छ,’ उनले भनेकी थिइन् । अर्थमन्त्री सीतारमणले गोलभेंडाको मूल्य आकासिएपछि नेपालबाट आयात गरेर समस्या समाधान गर्न खोजेकी हुन् । भारतमा भारी वर्षाका कारण गोलभेंडामा क्षति पुगेपछि मूल्य आकासिएको थियो । मूल्य बढेपछि भारतले नेपालबाट साउन २० गते गोलभेंडाको आयात खुला ग¥यो । आयात अक्टोबरसम्म खुला रहने भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतबाट निर्वाधरुपमा फलफूल तथा तरकारी नेपाल निकासी भए पनि आयातमा भने अघोषित प्रतिबन्ध लगाउँदै आएको छ । भारतले नेपालमा उत्पादित तरकारी तथा फलफूललाई प्रयोगशाला परीक्षणको बहानामा रोक्दै आएको छ । तर गोलभेंडाले सरकार नै समस्या परेपछि हतारहतार भारतले आयात खोलेको हो ।
भारत सरकारले गोलभेंडा आयात खुला गरेपछि नेपालको वीरगन्ज र काँकडभिट्टा भन्सारबाट त्यसको आधिकारिक निर्यात हुन थालेको छ । आयात खोलेको फाइदा उठाउँदै नेपाली व्यवसायीले गोलभेंडाको निकासी बढाएका हुन् । तर गोलभेंडा निर्यात हुने मुख्य सम्भावित नाकामध्ये एक विराटनगरबाट भने निकासी भएको भन्सार कार्यालयको अभिलेखमा देखिँदैन ।
विराटनगर भन्सारका सूचना अधिकारी परशुराम दाहालले यस नाकाबाट हालसम्म गोलभेंडा निकासी नभएको बताए । वीरगन्जका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले साउन २२ गतेदेखि गोलभेंडा निर्यात सुरु भएको जानकारी दिए । उनका अनुसार वीरगन्जबाट दिनमा ४० टन हाराहारीमा गोलभेंडा निर्यात भइरहेको छ । त्यस्तै काँकडभिट्टा भन्सारबाट साउन २७ सम्ममा भारु ३ लाख ९८ हजार ४०० मूल्यको २५ हजार ६२० किलो गोलभेंडा निर्यात भएको सूचना अधिकृत पूर्णकुमार लम्सालले जानकारी दिए ।
धनकुटा र तेह्रथुमका किसानले गोलभेंडाको मूल्य यस वर्ष इतिहासमै पहिलोपटक धेरै पाएको बताएका छन् । किसानले हिजोआज प्रतिकिलो ११० रुपैयाँमा गोलभेंडा विक्री गरिरहेका छन् । गत वर्ष यही बेला उनीहरूले प्रतिकिलो ४० रुपैयाँभन्दा बढी पाएका थिएनन् । गोलभेंडाको बोट बारीमै भटाभट मर्न थालेपछि उनीहरू चिन्तित छन् ।