विराटनगर । विराटनगरमा भदौ ३ गतेबाट अभिनय कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा कार्यशाला भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो ।

विराटनगरको हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रङ्गमञ्च र अभिनयका विविध तत्वहरु समेटिने आयोजकले जनाएको छ ।

रङ्गमञ्चको परिचय, नेपाली रङ्गमञ्च र इतिहास, नाट्य लेखन तथा कथावाचन, अभिनयको परिचय तथा अभ्यासहरु, पात्र निर्माण तथा प्रदर्शनका शिल्प, अभिनयमा शरीर, आवाज र कल्पनाशिलताको प्रयोग र अभ्यास, माइम अभिनय, नाटक निर्माण प्रकृया तथा तत्वहरु, समकालिन प्रदर्शन प्रवृत्ति तथा सामाजिक उत्तरदायित्व लगायत विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ । प्रशिक्षणमा सहभागी हुन ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

आगामी भदौ २२ गतेदेखि विद्यालय नाट्य महोत्सव आयोजना गर्न लागेको गुरुकुलले पूर्वतयारीकै स्वरुपमा प्रशिक्षण कार्यशाला सञ्चालन गर्न लागेको हो । महोत्सवमा सहभागी हुन बुधबारसम्ममा विद्यालयले फारम भरिसक्नु पर्ने सीमा छ । सहभागी विद्यालयलाई निःशुल्क प्रशिक्षण दिने गुरुकुलले जनाएको छ ।