विराटनगर । सोमबार दिउँसो पौने तीन बजेतिर मोहम्मद हलिम संसारीमाईस्थानबाट पूर्वतर्फको एउटा चिया पसलमा बसिरहेका थिए । चिया पिएर बसिरहेका बेला एक्कासी उनीमाथि तरबार प्रहार भयो ।

एउटै बाइक चढेर आएका तीनजना मध्ये बीचमा बस्नेले बोकेको तरबार प्रहार हुँदा विराटनगर –८ का २२ वर्षीय हलिमको दुवै हातमा गहिरो चोट लागेको छ । ‘ती भाई चिया पिएर बसिरहेका थिए, बाइकमा आएका तीन जनाले तरबार हाने, सपना हो कि विपना जस्तो भयो’, घटनास्थलमा प्रत्यक्षदर्शी भन्दैथिए ‘तरबार हानेर भागिहाले ।’

उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पठाएको छ । तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भास्कुलर सर्जरी गरेर जोड्नु भएकोले चिकित्सकले नोबेल पठाएका हुन् ।

हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीय अमन कुरेसी, विराटनगर ११ जनपथ टोलका २६ वर्षीया कुशल पाण्डे , विराटनगर सौरचियाका सदाब अन्सारीको समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । ‘सन्सारी माईस्थानबाट पूर्वतीर आउँदै गरेको एउटा पल्सर मोटसाइकलमा तीन जना चढेर आएका थिए । कुशल पाण्डेले मोटसाइकल चलाएका थिए । तीन जना मध्ये मोटरसाइकलको बीचमा बसेका समीर हुसेनले तरबार बोकेका थिए । पाण्डेले प्रहार गर.. प्रहार गर भन्यो । त्यसपछि त्यही तरबारले मोहमद हलिममाथि लर्डबुद्ध कलेज अगाडि चिया पसलमा प्रहार भयो,’ घटनका प्रत्यक्षदर्शीले भने, ‘तरबार प्रहार गरेर उनीहरु फरार भए ।’

तरबार प्रहारपछि पनि उनीहरु तरबार बोकेर त्यही बाइकमै भागे । तर, महानगरभरी छरिएर रहने प्रहरीले उनीहरुबारे केही सुइँको पनि पाएन । ‘खोजी कार्य तीव्र पारेको’ जवाफ प्रहरीले दिइरहेको छ ।

मुस्लिम सामुदायको मोहरम पर्वका बेला भएको विवादलाई लिएर मोहम्मद हलिममाथि तरवार प्रहार भएको उनका साथीहरुले बताएका छन् । विराटनगरमा मोहरम पर्वमा हलिम र समीरको समूहबीच विवाद भएको थियो । त्यही विवादमा भएको रिसइबीलाई लिएर तरबार प्रहार भएको प्रहरी अनुमान छ ।

तरवार प्रहार गर्नेहरु फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले बताए । ‘घटनामा संलग्नको पहिचान भएको छ । खोजी कार्य तीव्र बनाइएको छ,’ उनले भने, ‘घटनाका प्रतिवादी पक्राउ परेपछि आक्रमणको कारण खुल्नेछ ।’ अहिले घटनामा संलग्न पक्राउ गर्न लागिपरेको उनले बताए ।

विराटनगरमा दिनदहाडै हिंसात्मक घटना भएको यो प्रकरणले सहरमा ‘गुण्डाराज’ ब्यूँतिएको हो ? ‘एउटा दुईटा आपराधिक घटनालाई लिएर गुण्डाराज सुरु भयो वा दोहोरियो भन्न मिल्दैन’, मोरङ प्रहरीका एक उच्च अधिकारीले भने ‘तर, यस्ता आपराधिक प्रकृतिका घटना भने बढ्दै गएका छन् । यो चुनौतीको विषय हो ।’

विराटनगर कुनैबेला गुण्डाराजको पर्याय जस्तै थियो । हतियार र समूहको आडमा असुली धन्दा चलाउने, अपहरण तथा गोली हानाहानका घटना बाक्लै हुँदै आएका थिए । तर, पछिल्ला केही वर्षयता त्यस्ता गतिविधिमा प्रहरीले पूरै अंकुश लगाएको थियो । यसरी केही वर्ष सुस्ताएको गुण्डाराज यस्तै आपराधिक घटनामार्फत फेरि ब्यूँतिन थालेको छ ।

विराटनगरमा हतियार प्रहारका घटना यसअघि पनि भएको थियो । गत कात्तिक २४ गते विहान अफिस जाने क्रममा विराटनगर ८ अशोक चौकका ५२ वर्षीय अफाक आलममाथि खुकुरी प्रहार भएको थियो । दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले यस घटनामा विराटनगर – ८ का २० वर्षीय मो. साराजुनलाई पक्राउ गरेको थियो । आलमले कमिसन भन्दै पाँच हजार रुपैयाँ नदिँदा साराजुनसहितका दुई जनाले आक्रमण गरेको प्रहरीले बताएको थियो । खुकुरी प्रहार गरेपछि साराजुन भारततर्फ फरार भएका थिए । घर आएको कुरा प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरेको थियो ।

यस्तै २०७८ असोज १० गते उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक जना व्यापारीमाथि मोटसाइकलमा आएका युवाले खुकुरी प्रहार गरेका थिए । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि अपरान्ह १२ बजेतिर खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहरा गरी फरार भएका विराटनगर ६ घर भएका २५ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । घाइते भएका लामाको मोरङको कटहरी गाउँपालिका–६ मा रहेको इँट्टा उद्योगमा लगानी रहेको थियो । इँटा उद्योगसँग सम्बन्धित कामले लामा विराटनगर आउने गरेका थिए । व्यवसायीसँग आपसी विवाद विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको थियो । पछि खुकुरी हान्ने कार्की पुर्पक्षको लागि थुनामा गएका थिए ।
विराटनगरमा यस्ता घटना भएको समयको अन्तर केही फराकिलो छ । तर, यस्ता घटनाले आपराधिक मनोवृत्ति भएकाहरुलाई हौस्याउने जानकारहरु बताउँछन् । ‘यस्ता घटनाका अभियुक्तहरुलाई पक्राउ गर्ने, कारवाही गर्ने भयो भने उनीहरुको मनोबल नउठ्ने हो’, एक प्रहरी अधिकारीले भने ‘अन्यथा उनीहरुको मनोबल बढ्दै जाने र यस्ता घटना बाक्लै रुपमा हुने सम्भावना हुन्छ ।’