काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम पाइएको हो ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो । जसमा करिब एक क्वीण्टल सुन भएको अनुमान थियो ।

सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो । अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिए ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । सो प्रकरणमा भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको छ । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ ।