काठमाडौं । नेपाली कांग्रेसले साउन ३ गते बरामद गरेको १०० केजी सुन प्रकरणको छानबिनका लागि अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।
काँग्रेस बैठकले सुन प्रकरणका लागि अहिले नै उच्चस्तरीय समिति नचाहिने निश्कर्षसहित सिआईबीलाई नै छानविन गर्न दिनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ’, उनले भने, ‘अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ। यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन।’
डा.शेखर कोइरालासहित केहि काँग्रेस नेताले बैठकमा उच्चस्तरीय समिति बनाउनुपर्ने मत राखेका थिए भने महामन्त्री गगन थापासहितका नेताहरुले सिआईबीले नै छानविन गर्नुपर्ने धारणा राखेका थिए । तस्करी गरिएको क्विन्टल सुनको छानबिन गर्न राज्यका निकाय नै अब्बल रहेको अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका थिए ।
बैठकले राज्यका निकायहरुले अनुसन्धान गरिरहेको विषय भएकोले उच्चस्तरीय छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो । बैठकले तस्करीमा जोसुकै संलग्न भए पन कारबाही गर्नुपर्ने बताएको छ ।

