विराटनगर । सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाब ३४ वर्षयताकै उच्च भएपनि दिउँसो भने घटेको छ ।

आज मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाब ३ लाख ६५ हजार क्यूसेक प्रतिसेकेण्डमा झरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब थियो । पानीको बहाब उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो ।

यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्यूसेकेक प्रतिसेकेण्ड रहेको छ ।