विराटनगर । विद्युतीय सवारी साधन चार्जका लागि विराटनगरमा ‘चार्जिङ स्टेसन’ सञ्चालनमा आउने भएको छ । विराटनगर ११ स्थित बस पार्क परिसरमा चार्जर स्टेसन सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेसन प्राविधिक परीक्षणको चरणमा छ । परीक्षणपछि भदौ दोस्रो सातासम्ममा सञ्चालनमा आउने भएको हो । कोशी प्रदेशमा ९ स्थानमा निर्माण गरिएको चार्जिङ स्टेसन मध्ये ७ स्थानमा सञ्चालनमा आएको छ । झापाको बिर्तामोडमा २ वटा र दमकमा २ वटा,सुनसरीको इनरुवामा १ वटा,उदयरपुरको बेलका चार्जिङ केन्द्रमा २ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । इटहरी र विराटनगरमा भदौ दोस्रो सातासम्ममा सञ्चालनमा आउने विद्युत प्राधिकरणले जनाएको छ ।

चिनियाँ ठेकेदार कम्पनी ‘वानब्याङ डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत प्राधिकरणकरणबीच देशभर ५१ ठाउँमा चार्जिङ स्टेसनको स्थापना गर्ने सम्झौता अन्तर्गत विराटनगरमा पनि निर्माण भएको हो । चिनियाँ ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ कार्यक्रमका व्यवस्थापक शिव अधिकारीले विराटनगर र इटहरीको चार्जिङ स्टेसन मौसमले साथ दिएमा भदौ दोस्रो सातासम्ममा सञ्चालनमा ल्याइसक्ने बताए । उनका अनुसार विराटनगरको चार्जिङ स्टेसनमा जीबीटी चार्जिङ मेसिन जडान गरिएको छ । चार्जिङ स्टेसनको निर्माणको काम सम्पन्न भई पहिलो चरणको परीक्षण पनि सफल भइसकेको उनले बताए ।

चार्जिङ स्टेसनमा राखिने चार्जर १४२ किलोवाट क्षमताको हुनेछ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्म फुल चार्ज गर्न सकिनेछ । आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो । विराटनगर बसपार्कको चार्जिङ स्टेसनमा जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एक साथ तीन वटा सवारीसाधन चार्ज गर्न सकिने जनाइएको छ । पिक समयमा चार्ज गर्दा प्रतियुनिट ९ साँझ ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा , अफ पिक समय राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ६ रुपैयाँ ०६ पैसा , ९बिहान ५ देखि साँझ ५ बजेसम्म ८ रुपैयाँ २८ पैसा पैसा चार्ज शुल्क तोकिएको छ ।

ठूला सवारीका लागि जीबीटी र सानाका सवारीका लागि सीसीएस मेसिनले चार्ज गर्ने जनाईएको छ । नेपाल विद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइसकेको छ भने बाँकी ११ स्थानमा निर्माण कार्यलाई तीव्रता दिएको छ । जसअन्तर्गत ८ स्थानमा ११ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणका अनुसार ओखलढुंगाको घुर्मी, सिन्धुलीको मरिन र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको वालिङ चार्जिङ सेन्टर र रुपन्देहीको सैनामैना रिफ्रेस सेन्टरमा १÷१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ ।