सप्तकोशीमा ३४ वर्षयताकै पानीको बहाव उच्च, ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै

विराटनगर । पहाडी जिल्लामा भारी वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालका अनुसार ब्यारेजको ५६ वटै ढोका खुलेको यो बिरलै इतिहास हो । ‘५६ वटै ढोका खोलिएको लामो समयपछिको इतिहास हो । अहिलेसम्म सबैतिर सुरक्षित अवस्था नै छ । हामी सुरक्षाको लागि त्यस स्थलमा जाँदैछौं । पहाडतिर पानी निरन्तर परिरहयो भने अवस्था झनै खतनाक हुनसक्छ । अहिले सुनसरीको पहाडी इलाकामा पानी रोकिएको जानकारीमा आएको छ,’ उनले भने, ‘रातीको तुलनामा पानीको बहाब अहिले अलिक कम भएको छ ।’ पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको उनले बताए । सप्तकोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । पानीको बहाब उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । एसपी ढकालले स्थिति खतरामुक्त रहेको भएपनि ठूला सवारी साधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको छ । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक प्रतिसेकेण्ड पानीको बहाब मापन गरिएको थियो ।

यस्तै गत वर्ष साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पोइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेको थियो । यस्तै वि।सं २०६५ भदौ २ गते दिउँसो सप्तकोशी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए । त्यसबेला सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएका थिए ।

ब्यारेजको क्षमता कति ?

कोशी ब्यारेजमा पानीको बहाब १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातोबत्ती बाल्ने गरिएको छ । यस्तै दुईलाख कट्यो भने अर्को बत्ती बालिन्छ भने तीन लाख कटेपछि नदीको बीच भागमा अर्को बत्ती बाल्ने गरिएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्यूसेकेक प्रतिसेकेण्ड पानीको बहाब धान्न सक्ने हो । सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक प्रतिसेकेण्ड पानीको बहाब पुगेको थियो ।

सोमबार, २९ साउन, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर